Logo

शेखरबाट सुजाता र सशांक टाढिएपछि…



काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नै परिवारको साथ पाएनन् । बहिनी सुजाता कोइराला अर्को प्यानलबाट उपसभापतिको उम्मेदवार बनिन् । उनी प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार छिन् ।

शेखरका भाई डा. सशांक कोइराला पनि उनको पक्षमा खुलेनन् । सशांक आइतबार साँझ गरिएको पत्रकार सम्मेलनमा पनि शेखरको साथ देखिएनन् । शेखरले डाकेपनि सशांक अन्तिम समयमा आएनन् । यसबाट उनी झस्किएका थिए । तर, आफूलाई रामचन्द्र पौडेल र सशांक कोइरालाको आशिर्वाद रहेको बताए ।

कोइराला परिवारभित्र तीन प्रभावशाली नेताहरु तिनतिर देखिएका छन् । शेखर कोइराला आफै सभापतिका उम्मेदवार छन् । सुजाता अर्को प्यानलबाट उपसभापतिको उम्मेदवार छिन् । सशांक कोइराला कतै खुलेका छैनन् । उनको नाम केन्द्रीय सदस्यको उम्मेदवारमा सबै प्यानलहरुले समावेश गरेका छन् ।

कोइराला परिवार एक हुन नसक्दा चुनावमा क कस्लाई धक्का लाग्न सक्छ प्रतिक्षाको विषय छ । विश्वस्त स्रोतका अनुसार सशांकले सुजातालाई भने साथ दिने जवाफ दिएका छन् । कोइराला परिवारबाट कम्तिमा एकजना पदाधिकारी आउने सम्भावना देखेर सशांक सुजातालाई साथ दिने पक्षमा पुगेका हुन् ।

सुजाता र सशांक शेखर कोइरालासँग टाढिनुमा शक्ति बाँडफाँड नमिलेको बुझिएको छ । शेखरले अरु नेताको व्यवस्थापन गर्नुपर्ने चुनौतीका कारण कुरा मिल्न सकेन । त्यसकारण सुजाता असन्तुष्ट बनिन् । सशांक पनि महामन्त्रीबाट केन्द्रीय सदस्यमा झर्नुपर्दा असन्तुष्ट बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot