Logo

देउवालाई सर्वसम्मत् सभापति बनाउनेबारे शेखर कोइराला समूहमा छलफल, होलान् त देउवा सर्वसम्मत् सभापति ?



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनको लागि दोस्रो चरणमा निर्वाचन हुँदैछ। पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ । तर, दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि नै शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवाले पाएका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने भएपछि देउवा र शेखर दुवैको सक्रियता बढेको थियो । तर, सभापतिका उम्मेद्धवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले सभापतिमा देउवालाई सघाउने निर्ण गरिसकेका छन् । पहिलो चरणमा देउवाभन्दा ५ सय बढि मतले पछि परेका शेखर दोस्रो चरणमा पराजित हुने निश्चित् भएपछि अहिले उक्त समूहमा सर्वसम्मत् रुपमा देउवालाई सभापति बनाउनेबारे छलफल भएको बुझिएको छ ।

शेखरको टिमबाट उपसभापतिका उम्मेद्धवार रहेका डा. चन्द्र भण्डारीले अहिले आफ्नो समूह आन्तरिक छलफलमा रहेको जनाए । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले सभापतिको लागि सकेसम्म दोस्रो चरणको निर्वाचनमा नजानेबारे छलफल भएको जनाए ।

उनले चुनावमा जाँदा पार्टीभित्र अब फाटो आउने भन्दै सकेसम्म देउवालाई सर्वसम्मत् सभापति बनाउनेबारे छलफल भैरहेको बताए । यसअघि पहिलो चरणमा देउवाले २२५८, शेखरले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत प्राप्त गरेका थिए ।

file photo



प्रतिक्रिया दिनुहोस्