काठमाडौं, २८ मङ्सिर; नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले प्रधानमन्त्री तथा सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने भएका छन् ।
कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याएका उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ ।
गृहमन्त्री खाँण र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर आज बिहान सभापतिका प्रत्यासी सिंहलाई भेट्न सिंह निवास चाक्सीबारीमा सिंहलाई मिलेर अघि बढ्ने र पार्टीलाई सशक्त बनाउने प्रस्ताव राख्नु भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
उनीहरुको सो प्रस्ताव सुनेपछि सिंहले आफूले आफ्ना टिमका साथीहरूसँग छलफल गरेर देउवालाई समर्थन गर्ने बताएपछि प्रधानमन्त्री देउवा सिंह निवास चाक्सीबारीमा पुगेर सहमति गरेका हुन् । नेता सिंहले पत्रकारहरूको कुराकानीमा दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने बताइसकेका छन् ।-रासस