Logo

को हुन् हत्या गरी उखुबारीमा गाडिएका दुई पुरुष ?



काठमाडौं, १३ माघ । मोरङमा उखुबारीमा गाडिएका दुई पुरुषबारे प्रहरीले अनुसन्धानलाई गति दिएको छ । दुईमध्ये एक पुरुषको पहिचान भइसकेको छ ।

धनपालथान ७ बोर्डिङस्थित उखुबारीमा खाडल खनेर गाडेको अवस्थामा फेला परेकामध्ये एक राजेन्द्रकुमार श्रेष्ठ रहेको खुलेको छ । उनको लाइसेन्सबाट पहिचान खुलेको प्रहरीले जनाएको छ । ४९ वर्षीय श्रेष्ठ सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका थिए ।

श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ । उनको घाँटीमा डोरीले कसेर हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अर्का पुरुषको भने अझै पहिचान हुन सकेको छैन । उनको शव श्रेष्ठको भन्दा ३० मिटर टाढा गाडिएको छ ।

दुवै पुरुषको शव बुधबार उखु काट्ने क्रममा किसानले भेटेका थिए । खाडल खनेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खनेर हेर्दा कपडामा बेरिएको शवहरु भेटिएको थियो ।

वस्तीबाट ५ सय मिटर परको उखुबारीमा कस्ले हत्या गरी शव गाड्यो भन्ने चासोको विषय बनेको छ । प्रहरीले मृतकको पहिचान गरिसकेकाले अनुसन्धानलाई गति दिएको छ ।-Photo Source: Blastkhabar.com



प्रतिक्रिया दिनुहोस्