Logo

व्यवसायी रायामाझीलाई गोली हान्न सुपारी, एसपी प्रसाईद्वारा आरोपी पक्राउ गर्न आनाकानी



सर्लाही, १७ माघ । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको खुलासा भएको छ । व्यवसायी रायमाझीले आफुलाई गोली हान्न बाग्मती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा भारतीय सुटरहरूलाई सुपारी दिएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।

हरिवन बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले आफुलाई गोली हान्ने प्रयास गरेपनि संयोगले आफू जोगिएको रायमाझीले बताएका छन् । हरिवन नगरपालिका–११ घर भएका रायमाझीले ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएको रिपोर्टर्स नेपालसँग बताए ।

गत असोज २४ गते भारतीय सुटरहरू प्रकाश सिंह, बिटु सिंह र अरुण कुमार सिंह हरिवन नगरपालिका–११ मा रहेको हरि बहादुर बस्नेतको होटलमा बसेका थिए । होटलमा बसेर निगरानी गरेपछि असोज २५ मा बिहान ५ देखी साढे ७ बजेसम्ममा गोली हान्ने प्रयास गरेको तर, आफू समूहमा चिया खान गएको हुनाले सुटरहरू फर्केको उनले जिकिर गरेका छन् ।

हरिवन नगरपालिका–९ घर भएका विश्वराज पोखरेलको आग्रहमा बलरा नगरपालिकामा वडा नम्बर–१ घर भई नरहरगञ्ज प्राविका शिक्षक ५० वर्षीय सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएको उनले दाबी गरेका छन् । योजना चुहिएपछि रायमाझीले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको बताए ।

गत पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार विश्वराज पोखरेल र सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सुरेन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ज्यान मार्ने उद्देश्यले आपराधिक षडयन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

आरोपीहरू खुलेआम घुमिरहेका तर, सर्लाही प्रहरीले उनीहरूलाई पक्राउ गर्न आनाकानी गरेको पीडित पक्षको भनाई छ । सुटरसँगै आएका एकजना युवाको भिडियो बयान अनुसार पोखरेलले २५ लाखमा व्यवसायी रायमाझीको हत्या गर्न सुपारी दिएका थिए । सो मध्ये १५ लाख नेपाली रुपैयाँ र दुईओटा पल्सर मोटरसाइकल अग्रिम दिइसकेको ती युवाले भिडियो बयानमा बताएका छन् । साक्षीहरूको घटना विवरण कागज र सिसिटिभी फुजेटबाट पनि असोज २४ मा रायमाझीको घर आसपासमा आरोपीहरूको आवतजावत देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरीले बताए ।

प्रारम्भिक अनुसन्धान सकेर अदालतबाट पक्राउ पुर्जी आए पनि प्रहरीले आरोपीहरूलाई पक्रेर अनुसन्धान गर्न चासो नदेखाएको आरोप छ । आरोपीहरूलाई पक्राउ गर्न अनुमति आएको तर, उनीहरू आफ्नो एरियामा नभएको हुनाले पक्राउ गर्न नसकिएको सर्लाहीका एसपी कृष्ण प्रसाईले बताए । रिपोर्टर्ससँग कुरा गर्दै उनले भने,‘आरोपीहरू काठमाडौँमा छन्, भन्ने सूचनाको आधारमा काठमाडौँ, भक्तपुर र ललितपुरमा पत्राचार गरेको छु ।’

एसपी कृष्ण प्रसाईले आरोपी आफ्नो एरियामा नभएको जिकिर गरेपनि बागमती नगरपालिकामा कार्यरत लेखापाल विश्वराज पोखरेलले चेक काटिरहेको थाहा भएको छ । घटना शङ्कास्पद भएको तर, चेक काटेको बारेमा आफूलाई थाहा भएको एसपी प्रसाईले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot