Logo

‘खाेपमा पहुँच बढाउनका लागि खाेपकार्डकाे नीति ल्याइएकाे हाे’



काठमाडौँ, २२ माघ। कोरोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले स्पष्ट पारेकी छिन् । प्रवक्ता डा. मिश्रले कोरोनाविरुद्धको खोप लिन मानिसहरू नआउने क्रम बढेपछि सरकारले उनीहरूलाई खोपको दायरामा अनिवार्य रूपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रस्ट्याएकी हुन् ।

उनले यो नीति लिएपछि कोरोनाविरुद्धको खोप लगाउनेहरूको भीड नै लाग्न सुरु गरेको बताइन् । प्रवक्ता मिश्रले सरकारले लिएको यो नीति मिडियामा आएजस्तो नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नभएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘खोप कार्ड अनिवार्य किन गर्‍याे भनेर हामीले बुझ्नु पर्दछ । यो जनतालाई सास्ती दिनका लागि आवश्यक पनि होइन । विगतको एक्सपेरियन्सले के देखाएको छ भने भ्याक्सिनेसनको रेट बढाउँदा पनि कतिपय व्यक्तिहरू भ्याक्सिन लिन नआएको अवस्था पनि छ । यदि तपाईंले पछिल्लो तथ्यांक हेर्ने हो भने अझ विशेषगरी ओमिक्रोनभन्दा पहिलाको तथ्यांक हेर्ने हो भने खाेप केन्द्रहरू संचालन गर्दा पनि मान्छे खोप लिन नै आएनन् । ओमिक्रोनको इन्फेक्सन बढिरहँदाखेरी भ्याक्सिन लिनलाई भीड भयो । अर्को कुरा के भनिएको छ भने कुनै सार्वजनिक सेवा दिने संस्थाको छेउमा लगभग आधा घण्टाभित्र वा नजिकै खोप केन्द्र हुनुपर्छ । त्यो हिसावले यसले के गर्छ भने यदि उसँग खोप कार्ड छैन भने पहिले गएर खोप लिन्छ अनि मात्रै सेवा लिन आउँछ भन्ने कुरा मात्रै हो । यो चाँहि खोपमा पहुँच बढाउन राज्यले लिएको नीति हो । यो मिडियामा प्रचार भएजस्तो कसैलाई विभेद गर्न वा सेवा निषेध गर्नका लागि लिएको चाँहि हाेइन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot