Logo

प्रचण्डद्वारा अमेरिकामाथि रणनीतिक चार्तुयता



काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रणनीतिक चार्तुयता भएका नेता हुन् । उनले कहिले कुन नेतामाथि त कहिले कुन शक्तिमाथि रणनीतिक चार्तुयता देखाउँदै शक्तिको भरपूर अभ्यास गर्दै आएका छन् ।

प्रचण्डले जनयुद्धका बेलामा कहिले एमालेका नेतालाई प्रयोग गरी काँग्रेसका नेतामाथि त कहिले काँग्रेसका नेतालाई प्रयोग गरी एमालेका नेतामाथि प्रहार गरेको खुलिसकेको छ । काँग्रेस र एमाले जुधिरहे । तत्कालीन राजाले लाभ लिन सके । राजासँग सिधै वार्ता गर्ने भनेर प्रचण्डले काँग्रेस र एमालेलाई अप्ठ्यारोमा पारिदिए ।

विगतमा ज्ञानेन्द्र देखि दलका नेतासम्मलाई एकसँग मिलेर अर्कोमाथि प्रहार गरेको प्रदीप ज्ञवालीले विश्लेषण नै गरिसकेका छन् । उनले शान्ति प्रक्रियापछि गिरिजाप्रसाद कोइरालासँग मिलेर एमाले नेता माधवकुमार नेपाललाई साइजमा ल्याएका थिए । पछि कोइरालासँग सम्बन्ध टाढा बनाए ।

२०७० सालको चुनावपछि प्रचण्ड कहिले काँग्रेससँग मिलेर एमाले कमजोर बनाउन लागे त कहिले एमालेसँग मिलेर काँग्रेस कमजोर बनाउन लागे । रणनीतिक रुपमा उनी सफल भए ।

२०७४ सालको स्थानीय चुनावमा देउवासँग मिलेर सफलताहरु हासिल गरे । छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर जिताउन सके । पछि देउवालाई छक्क पार्दै केपी शर्मा ओलीसँग हात मिलाए । एमालेसँग मिलेर आमनिर्वाचनमा सफलता हासिल गरे ।

ओलीसँग टकराव बढेपछि माधव नेपालसँग हातेमालो गरे । उनले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर बनाउन भूमिका पनि खेले । देउवाको चाहना एमसीसी पारित गर्ने थियो ।

प्रचण्डले एमसीसी पारित गर्ने सहमति पनि जनाए । २०२१ को सेप्टेम्बर २९ मा देउवासँगै पत्र लेखेर अमेरिकालाई ५ महिनाको समयसीमा दिन भने । ५ महिनाको समय दिन अमेरिका तयार भयो । २८ फेब्रुअरी नजिकिदै गर्दा प्रचण्डले एमसीसी संशोधनको विषय राखे । संशोधन नहुने भएपछि चुनाव पहिले गरेर यसबारे पछि निर्णय गर्ने प्रस्ताव राखे ।

प्रचण्डले अमेरिकालाई लेखेको पत्र खुलासा भयो । त्यसलाई प्रचण्डले गठबन्धन जोगाउन मात्र लेखेको जवाफ दिदै पार्टीबाट विज्ञप्ति जारी गर्न लगाए । यसरी उनले अमेरिकामाथि समेत रणनीतिक चार्तुयता देखाएको सन्देश दिए । अमेरिकाले प्रचण्डको अलमलाउने रणनीति बुझेर यसपटक समयसीमा नलम्ब्याउने र संशोधन पनि नगर्ने स्पष्ट पारिसकेको छ । देउवा पनि अलमलमा नपर्ने अडानमा बसिसकेका छन् ।

प्रचण्डले बरु गठबन्धन भत्किएपनि एमसीसीको पक्षमा नजाने सन्देश दिएका छन् । यसले उनको अमेरिकालाई लेखेको पत्र रणनीतिक चार्तुयता रहेको प्रष्ट भएको छ ।

विगतमा भारतलाई समेत प्रचण्डले अलमलमा पारेका थिए । उनले भारतलाई अलमलाएर आफ्नो राजनीतिक उद्देश्यहरु प्राप्त गरेको विषयहरु खुल्दै गएको छ । विश्वस्त स्रोतका अनुसार भारतीय पक्षले प्रचण्ड विश्वासयोग्य नभएको भनिसकेको छ । यसपटक एमसीसीविरुद्ध उभिएर प्रचण्डले अमेरिकाविरुद्ध आफूलाई प्रष्ट रुपमा उभ्याएका छन् । उनी पाँच महिना एमसीसी अलमलाउन सफल भएपनि पारित हुनबाट रोक्न भने सफल हुन कठिन देखिदैछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot