Logo

नागरिकता अध्यादेशको विकल्प छैनः पुष्पा भुसाल



काठमाडौं, २ चैत । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन नखुलाउँदा नागरिकता अध्यादेश ल्याउनुपर्ने बाध्यता रहेको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन्, “हिउँदे अधिवेशनमा नागरिकता विधेयक, निजामती कर्मचारी ऐनजस्ता सर्वदलीय सहमति चाहिने राष्ट्रिय सरोकार र संघीयतासँग माथि मुद्दा थिए । तर, यी विधेयक एमालेको विषय नै होइन भन्ने जस्तो व्यवहार भयो । सदन खोल्ने संकेत देखिएन । मुलुकमा कानुनको अभावमा झन्डै १० लाख मानिस नागरिकताविहीन छन् । जन्मसिद्ध नागरिकतालाई सरलीकृत बनाउन अब अध्यादेशको विकल्प छैन ।”
हठात् किन संसदको अधिवेशन अन्त्य भयो भन्ने पत्रकार धमलाको प्रश्नमा भुसालले थपिन्, “बजेट अधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्ने आवश्यक थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोगबारे सदनमा सघन छलफल आवश्यक थियो । तर प्रमुख प्रतिपक्ष एमालेले यसमा चासो नदिएपछि संसद् अन्त्य गर्नुपर्ने बाध्यता आयो ।”
कांग्रेस संसदीय दलकी सचेतक समेत रहेकी भुसालले अधिवेशन अन्त्य हुँदैमा महाभियोग प्रस्ताव अलपत्र नपर्ने पनि बताइन् । उनले भनिन्, “महाभियोग प्रस्ताव टेबुल गरिसकेको अवस्था छ । यसबारे सांसदहरुले छलफलमा भाग लिने र त्यहाँ उठेका विषयलाई महाभियोग सिफारिस समितिमा पठाउनुपर्ने हो । यसमा निकै समय लाग्थ्यो । तर एमालेका कारण यो पनि रोकियो ।”
नेपाली कांग्रेसले चुनावी अभियान सुरु गरिसकेको र स्थानीय आवश्यकता अनुसार तालमेल हुन सक्ने उनले बताइन् । भुसालले भनिन्, “गठबन्धनमा संघीय चुनावसम्म सँगै जाने भन्ने छ । स्थानीय तहमा राम्रो उम्मेदवार चयन गरेर जनताको बीचमा जानुपर्ने आवश्यकता छ । स्थानीय तहको आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने र नपर्ने स्थानको निक्र्यौल भएपछि मात्र यसबारे स्पष्ट हुन सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot