Logo

रुसले प्रति ब्यारल ३० डलरसम्म छूटमा भारत र चीनलाई तेल बेच्यो



एजेन्सी, २ वैशाख । रुसले तेल र ग्याँस विक्री एशियामा केन्द्रित गर्न थालेको छ । उसले भारी छूटमा भारत र चीनलाई कच्चा तेल बेचिरहेको खुलेको छ ।

विश्वको आधा जनसंख्या भएको भारतसहित दक्षिण एशिया र चीनमा रुसको ध्यान बढी खिचिनुमा यूरोपमा उसको तेल र ग्याँस खरिद कटौती हो । अमेरिका र बेलायतले रुसको तेल र ग्याँस किन्न छाडेका छन् । यूरोपेली यूनीयनका कतिपय देशले पनि खरिदमा कटौती गरेका छन् ।

यूरोपेली यूनीयनका देशहरुले रुसी ग्याँस र तेल नै खरिद रोक्ने गरी तयारी गरिरहेका छन् । यसलाई दृष्टिगत गरी रुसले भारत र चीनमा आफ्नो व्यापार बढाउन थालेको छ ।

रुसी तेल उत्पादक कम्पनीहरुले भारतलाई २५ देखि ३० डलर छूटमा प्रति ब्यारल तेल विक्री गरिरहेको खुलेको छ । भारी छूट पाएपछि भारतले रुससँग ६ महिनामा खरिद गर्ने गरेको तेल एक महिनामै खरिद गरिसकेको छ । रुसी कच्चा तेल बोकेको जहाजहरु समुन्द्रमा भारततर्फ बढिरहेको विषयहरु आएका छन् ।

यसैगरी, चीनले पनि रुससँग तेल खरिद बढाएको छ । उसले भारी छूटमा तेल खरिद गरिरहेको छ । चीनसँग रुसको ग्याँस पाइपलाइन पनि छ । हजारौं किलोमिटर दूरीको ग्याँस पाइपलाइन सञ्चालनमा छ ।

रुसले यूरोपबाट आफ्नो ध्यान एशियामा बढाएको छ । रुस यूरोप र एशिया दुवैमा पर्छ । तर, उसको सामिप्यता यूरोपसँग रहँदै आएको छ । युक्रेनमाथि हमलापछि यूरोपेली देशहरुले रुसमाथि आर्थिक प्रतिबन्धहरु लगाएका छन् । यसकारण पनि रुसले एशियातर्फ ध्यान बढाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot