Logo

परराष्ट्र नीति, कूटनीति र अबको रोडम्याप



विसं १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जिती एकीकरण गरेदेखि नै नेपालको असंलग्न परराष्ट्र नीतिको प्रतिपादन भएको मान्नु पर्दछ । किनकि उनले नेपाललाई उत्तरमा चीन तथा दक्षिणमा भारतजस्ता ठूला भूभाग तथा जनसंख्या भएका देशहरूबीच रहेको तरूलको संज्ञा दिएका थिए । तरूल भनेको त नरम हुन्छ, खाइन्छ । ढुंगाले किचिएर सकिन सक्छ । उनले नेपालको भौगोलिक तथा रणनीतिक पृष्ठभूमि बुझेर नै यस्तो सुझबुझयुक्त नीतिको प्रतिपादन गरेको हुनु पर्दछ ।
पृथ्वीनारायण शाहपछि शक्तिशाली बनेका प्रधानमन्त्री भीमसेन थापाका कार्यकालमा समेत नेपालले ब्रिटिसहरूलाई भन्दा फ्रेन्चहरूलाई विश्वास गरी राम्रो सम्बन्ध कायम गरेको देखिन्छ । फ्रेन्च सैनिक अधिकारीहरू आएर नेपाली सेनालाई तालिम दिने तथा ससाना हतियारहरू उत्पादन गर्ने कार्यमा पनि सघाएका थिए । विसं १९०३ मा कोतपर्वपश्चात् सर्वशक्तिमान भै उदय भएका प्रधानमन्त्री जंगबहादुर राणा तथा उनका सन्ततिले १०४ वर्षसम्म नेपालमा राजकाज चलाएका बेलामा खासगरी नेपालको परराष्ट्र सम्बन्ध भनेको सीधै ब्रिटिस सरकारसँग मात्रै थियो । सन् १९५७ मा सिपई म्युटिनी दबाउन ब्रिटिस सरकारलाई सघाई खुशी पारेपछि जंगबहादुरको चातुर्यले गर्दा सन् १८१४-१८१६ को सुगौली सन्धिपछि गुमेका पश्चिमका ५ जिल्लाहरू फिर्ता ल्याउन सफल भएका थिए । अनपढ भए तापनि जगबहादुरमा कूटनीतिक चातुर्य भने भरपुर थियो ।
२००७ सालको राजनीतिक परिवर्तनपछि नेपाल आधुनिक युगमा प्रवेश गर्‍यो । यसका साथै १४ डिसेम्बर १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि खासगरी नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गरेको हो । यसको साथै सन् १९५५ मा नेपालले इन्डोनेशियाको बान्डुङ शहरमा आयोजित असंलग्न राष्ट्रहरूको सम्मेलनमा पनि भाग लिएको थियो । त्यसपश्चात् सन् १९६१ मा यस आन्दोलनको प्रथम शिखर सम्मेलन पूर्व युगोस्लाभियाको राजधानी बेल्ग्रेडमा आयोजना गरिँदा सोमा उच्च तहमा भाग लिएको थियो । नेपाल पनि असलग्न परराष्ट्र नीति अपनाएको एक सार्वभौमसत्तासम्पन्न राष्ट्र हो । त्यसैले नेपालले हालसम्म असंलग्न आन्दोलनको प्रत्येक शिखर सम्मेलनहरूमा राष्ट्रप्रमुख वा सरकार प्रमुखको नेतृत्वमा भाग लिँदै आएको छ । सन् १९५० देखि १९६० सम्म विश्वमा मडारिएको शीतयुद्धमा नेपालले असंलग्न परराष्ट्र नीति अपनाई आफ्नो देशलाई पश्चिमा वा पूर्वका खेमामा नबसी अक्षुण्ण राखेको थियो ।
भनिन्छ, साना राष्ट्रहरूको सबल परराष्ट्र नीतिले नै देशलाई प्रगतिको आधार प्रदान गर्दछ । साना राष्ट्रहरूले विश्वमा भैरहेको विभिन्न विषयमा आप्mनो नीतिहरूको उचित प्रस्तुतिले आप्mनो अस्तित्वबोध गराउन सक्छ । यस सन्दर्भमा सन् १९९६ मा लेखक पनि संयुक्त राष्ट्रसंघमा भाग लिन गएको नेपाली प्रतिनिधिमण्डलको सदस्यको रूपमा कार्यरत रहँदा बहरेन (७०७ वर्ग किलोमिटर) तथा सेसेल्स (४५८ वर्ग किलोमिटर) का प्रतिनिधिहरूले दिएको धाराप्रवाह प्रस्तुतिलाई स्मरण गर्दा विश्व रंगमञ्चमा आआफ्नो देशको प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्ने आभास मिलेको थियो ।
नेपालको परराष्ट्र नीति असलग्न परराष्ट्र नीतिका सिद्धान्तहरू, संयुक्त राष्ट्रसंघको बडापत्रको भावना अनुरूप नै चल्दै आएको छ । यस नीतिको प्रतिपादनताका यसका केही आधारभूत तत्वहरूलाई निक्र्याैल गरिएको थियो । यसमध्येमा शीतयुद्धको विरोध, सैनिक गठबन्धमा नलाग्ने, शक्तिराष्ट्रहरूको पछि नलाग्ने, शान्तिपूर्ण सहअस्तित्व तथा हस्तक्षेप नगर्ने, परराष्ट्र नीतिको स्वतन्त्र रूपमा सञ्चालन, विदेशी शक्तिको सैनिक अखडा नराख्ने तथा असंलग्नतालाई अन्तर्राष्ट्रिय विकासको एउटा आधारका रूपमा लिइएको थियो ।
नेपालको सविधानमा पनि यी नीतिहरू प्रस्ट रूपमा किटान गरिएका छन् । ठूला राष्ट्रहरूको बीच हुने द्वन्द्वहरूमा नफस्न चाहने राष्ट्रका लागि सबभन्दा उपयुक्त नीति नै असंलग्न परराष्ट्र नीति हो । राष्ट्रिय स्वार्थको स्पष्ट किटान तथा असंलग्न परराष्ट्र नीतिको कार्यान्वयमा तलमाथि नपारिएको अवस्थामा आप्mनो देशको स्वतन्त्रता तथा सार्वभौमसत्तालाई अक्षुण्ण राख्न सकिन्छ ।
विगतका अनुभवलाई मूल्यांकन गर्दा नेपालले सन् १९५५ मा संयुक्त राष्ट्रसघको सदस्यता लिएपश्चात् अन्तर्राष्ट्रिय रंगमचमा राम्ररी तथा प्रभावकारी रूपमा भूमिका खेलेको पाइन्छ । यसको एउटा ज्वलन्त उदाहरण सन् १९६१ मा संयुक्त राष्ट्रसंघका द्वितीय महासचिव स्वीडेनका डाग हामरस्वर्ड कगोमा जाँदा जहाज दुर्घटनामा परी निधन भएको थियो । पछि संयुक्त राष्ट्रसंघले त्यो जहाज दुर्घटनाका बारेमा एउटा जाँचबुझ आयोग गठन गरेकोमा सोको संयोजकका रूपमा नेपाली स्थायी प्रतिनिधि राजदूत क्रृषिकेश शाहलाई नियुक्त गरेको थियो । यो भनेको संयुक्त राष्ट्रसंघले नेपालप्रति दर्शाएको अमूल्य विश्वास पनि थियो । पछिका वर्षहरूमा संयुक्त राष्ट्रसंघको समुद्री कानुन सम्बन्धी अभिसन्धि, निशस्त्रीकरण, रासायनिक हातहतियार नियन्त्रण अभिसन्धि, मानव अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्यहरू समेतमा निकै प्रभावकारी तरिकाले कामहरू गरेको थियो । नेपाल संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पनि सन् १९६७—१९६८ तथा १९८८—१९८९ मा गरी दुईपटक निर्वाचित भै काम गरेको थियो ।
२० वर्षको दौरानमा सुरक्षा परिषद्मा अस्थायी सदस्य निर्वाचित भए तापनि अर्काे २० वर्षपछि भने कुनै यस्तो कदम उठाइएन । अर्काे सबभन्दा खट्किने कुरा के छ भने यस दक्षिण एशिया महाद्वीपबाट नेपालभन्दा पछि सदस्य भएको बंगलादेश तथा सानो टापुहरू मिली बनेको देश माल्दिभ्सका प्रतिनिधिले संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष भै कामकाज गरिसकेका छन् । दुर्भाग्य नै भन्नु पर्दछ, नेपालले यस विश्वमञ्चको सदस्यता लिएको ६७ वर्ष भैसके तापनि एकपल्ट पनि महासभाको अध्यक्षको पदमा निर्वाचित भई काम गर्न पाएको छैन । संयुक्त राष्ट्रसंघ भनेको बोल्नेको पिठो बिक्ने प्लेटफर्म हो । यहाँ सक्रियता अति आवश्यक पर्दछ । खासगरी विभिन्न खालका चुनावहरूमा भाग लिँदा आप्mनो देशको पक्षमा समर्थन जुटाउन निकै कसरत गर्ने गरिन्छ । भोटिङका आधारमा देश सानो होस् वा ठूलो होस्, विकसित वा अविकसित, धनी वा गरिब, सबैको समान अधिकार हुन्छ । नेपालले संयुक्त राष्ट्रसंघ तथा यस अन्तरगत रहेका विभिन्न विशिष्टिकृत संस्थाहरूमा औसत रूपमा ठिक्क खालको भूमिका खेल्दै आएकाले बेलाबेलामा विभिन्न पदमा जीत हासिल गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय परिस्थितितर्फ विचार गर्दा अहिले विश्वमा रूस तथा युक्रेन युद्धले जुन भयंकर त्रासदीको वातावरण पैदा गराइरहेको छ । यसले गर्दा विश्वका हरेक कुनाकाप्चामा प्रभावित गराइरहेको छ । आणविक युद्धको त्रासदी विश्वसामु छ । ७७ वर्ष अगाडि हिरोसिमा तथा नागासाकीमा खसालिएका अणुबमभन्दा ३३६० गुणा शक्तिशाली अनुणमहरू बनेका सुनिन्छन् । शक्ति राष्ट्रहरूको अगाडि हामी जस्तो देश त अति नै निरीह छौं । शक्ति राष्ट्रहरू दुई खेमामा विभक्त भएका छन् । शक्तिशाली राष्ट्रले त अन्तर्राष्ट्रिय कानुनलाई पनि मान्न छाडेको छ । आप्mनो राष्ट्रिय स्वार्थको अगाडि विश्व शान्ति तथा स्थायित्वलार्ई गौण मान्ने विचार प्रकट भैरहेको छ । यो अति नै चिन्ताजनक अवस्था सम्पूर्ण मानवजातिको आँखासामु प्रकट भएर आएको छ ।

आजको अवस्था
हामी नेपालीहरू वर्षाैंदेखि एउटा हीन मानसिकताबाट गुज्रिरहेका छौं । भूपरिवेष्ठित मुलुक, गरिब तथा अविकसित छौं भन्ने सोचाइ छ । मेरो विचारमा यो सरासर गलत छ । किनकि नेपाल विश्वको मानचित्रमा भौगोलिक क्षेत्रफलमा ९४ औं, जनसंख्याको आधारमा ४९ औं तथा वार्षिक कूल राष्ट्रिय आयको दृष्टिकोणले १०३औं नम्बरमा रहेको छ ।
विभिन्न स्रोत साधनहरूको प्रचुरताले गर्दा समृद्ध मुलुक बन्नुपर्ने हो, हामी नेपालीहरू पनि अरूजस्तै धनी हुनुपर्ने हो । तर दुःखको कुरा न हामी समृद्ध छौं न धनी । किनकि हामीलाई सही नेतृत्वले डो¥याउन सकेको छैन । राजनीतिमा सशक्तता देखिएको छैन । सबै कुरा राजनीतिको सेरोफेरोमा नै घुमिराख्छ । यदि समय सापेक्ष नीतिहरूको प्रतिपादन तथा तिनको सही तथा प्रभावकारी कार्यान्वयन हुने हो भने, नेपालले प्रगतिको मार्गमा निश्चय नै छलाङ मार्न सक्छ । चाँडै नै समृद्ध हुन सक्तछ । जनता पनि धनी हुन सक्छन् । यसका लागि सबल प्रजातन्त्र, प्रभावकारी आर्थिक नीतिहरू, कुशल सरकारी यन्त्र, भ्रष्टाचारमुक्त प्रशासन तथा सुयोग्य नेतृत्वको जरूरत पर्दछ ।
परराष्ट्र नीति भनेको विदेशी मुलुकहरूसँग अपनाउने सरकारको नीति हो भने कूटनीति भनेको त्यही नीतिलाई कार्यान्वयन गर्ने यन्त्र हो । सरकारको परराष्ट्र नीति तथा कूटनीति दुवै हुन्छ । तर व्यक्तिको भने कूटनीति मात्र हुन्छ । सरकारले प्रतिपादन गरेका परराष्ट्र नीतिहरू स्वदेश तथा विदेशमा कार्यान्वयन गर्ने अधिकार प्राप्त व्यक्तिहरू भनेको कूटनीतिज्ञहरू हुन् ।
नेपालले अँगालेको असंलग्न परराष्ट्र नीति अनुरूप कूटनीति पनि सोही रूपमा अगाडि बढिरहेको पाउँछौं । यसको एउटा ज्वलन्त उदाहरण भनेको संयुक्त राष्ट्रसंघको १९३ सदस्य राष्ट्रमध्ये १७३ राष्ट्रसँग नेपालले दौत्य सम्बन्ध स्थापना गरिसकेको छ । यसमा सवै प्रकारका राष्ट्रहरू पर्दछन् । खासगरी संयुक्त राष्ट्रसंघमा कुनै पदमा निर्वाचनका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्दा हामीले पनि समर्थनका पाउन सक्छौं । नेपालले ३० वटा मुलुकहरूमा आफ्नो राजदूतावास स्थापना गरिसकेको छ । यसको अलावा न्युयोर्क तथा जेनेभामा गरी २ वटा स्थायी नियोगहरू तथा ७ वटा शहरहरूमा महावाणिज्य दूतावासहरू पनि स्थापना गरिसकेको छ । जम्माजम्मी ३९ वटा कूटनीतिक नियोगहरूले नेपालको परराष्ट्र नीति सञ्चालनमा सघाउँदै आएका छन् ।
परिवर्तित विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई अहम् बनाउनु जरूरी छ । साथै हालका वर्षहरूमा राजनीतिक लक्ष्यभन्दा आर्थिक लक्ष्यहरूले प्राथमिकता पाउँदै आएका छन् । विश्व व्यापार संघको स्थापनापश्चात् विश्वमा व्यापारका आयामहरू परिवर्तन भएका छन् । नियमबद्ध तथा समान अधिकार व्यापारमा पनि स्थापित भएको छ । २३ अप्रिल २००४ देखि नेपालले यस विश्व व्यापार संगठनको सदस्यता लिएपश्चात् नेपाललाई पनि विश्वमा आफ्नो व्यापारिक तथा आर्थिक अधिकार तथा अवसरहरू पाउने भएको छ । खालि नेपालले पनि कसरी आफ्नो यस्तो व्यापारिक हित प्रवर्धन गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्नु जरूरी छ ।

अबको मार्गचित्र
१. कूटनीतिक क्षेत्र- साना तथा विकासोन्मुख राष्ट्रहरूका लागि सक्रिय कूटनीति आफ्नो देशको हित प्रवर्धन गर्ने एक सशक्त माध्यम हो । अतस् नेपालले आफ्नो कूटनीतिलाई सक्रिय रूपमा सञ्चालन गर्नुुपर्‍यो । सक्षम तथा देशको हितप्रवर्धन गर्न सक्ने उपयुक्त व्यक्तिहरूलाई राजदूत पदमा नियुक्त गर्नुपर्‍यो । राजदूत पदमा नियुक्ति पाएका व्यक्तिहरूले आफ्नो देश तथा जनताको भलो हुने काम गर्नुप¥यो । सरकारले आफ्ना कूटनीतिक नियोगहरूलाई सक्रिय रूपमा काम गर्ने वातावरण तथा आर्थिक स्रोत साधन दिनु आवश्यक छ । अनुपयुक्त तथा निकम्मा राजदूतहरूलाई समय घर्किनु अगाडि नै फर्काइनु पर्दछ । नत्र समय तथा स्रोत साधनको क्षयबाहेक केही हुन्न । परराष्ट्र मन्त्रालयले सक्षम नेतृत्व प्रदान गरी परराष्ट्र नीतिको सञ्चालनमा गतिशीलता ल्याउनु पर्दछ । हाम्रा कूटनीतिक अधिकृत कर्मचारीहरूलाई आफ्नो योग्यता तथा क्षमता प्रदर्शन गरी काम गर्ने समय तथा अवसर दिइनु पर्दछ ।
२.व्यापारिक क्षेत्र- नेपालको वैदेशिक व्यापारमा निर्यातभन्दा आयात करिब १२ गुणा बढी छ । हामीले खाद्यान्नदेखि सबैजसो सामानहरू आयात गरिआएका छौं । औद्योगिकीकरणको राष्ट्रिय आयमा योगदान एकदम न्यून छ । यताका केही वर्षहरूदेखि निर्यातमा वृद्धि भैआएको देखिन्छ । तर आयात प्रतिस्थापन नगरी निर्यात केही हदसम्म बढे पनि यसबाट देशलाई फाइदा हुने हैन । औद्योगिकीकरणलाई प्रश्रय दिई निर्यातयोग्य वस्तुहरूको उत्पादन बढाउनु पर्दछ । स्वदेशमा उपलब्ध कच्चा पदार्थहरूको अधिकतम उपयोग गरिनु पर्दछ । यसो भएमा सरकारलाई राजस्वमा अभिवृद्धि हुनुका साथै देशमा रोजगार पनि सृजना हुन्छ । जापान, कोरिया, सिंगापुर, ताइवानजस्ता देशहरूले निर्यातलाई दु्रतत्तर रूपमा वृद्धि गरी आफ्नो अर्थतन्त्रलाई उकासेको हो ।
सरकार तथा निजी क्षेत्रले एक आपसमा विश्वासको जग मजबुत बनाई सहकार्य गर्नु पर्दछ । कार्ययोजना तथा नीतिनियम सरकारले बनाउने हो, काम गर्ने भनेको निजी क्षेत्रले हो । व्यापार तथा औद्योगिकीकरणको क्षेत्रमा सक्रिय भै काम गर्ने वातावरण बनाएर प्रोत्साहन दिनु आवश्यक छ ।
३. सफ्ट पावरहरूलाई बढावा- नेपालमा विश्वभर चिनिने सफ्ट पावरहरू थुप्रै छन् । प्रकृति, सांस्कृतिक, एडभेन्चर, आध्यात्मिक सफ्ट पावरहरूको अलावा अब मेडिकल सफ्ट पावरहरूको पनि विस्तारै अभिवृद्धि हुँदै आएको देखिन्छ । विश्वको सर्वाेच्च टाकुरा सगरमाथा, भगवान् गौतम बुद्धको जन्मभूमि लुम्बिनी, जीवित देवी कुमारी, विश्वप्रसिद्ध गोरखाली वीरताको अलावा हाम्रो प्राकृतिक सौन्दर्य, हिमाल, पहाड, नदीनाला, तालतलाउ, खाना, भेषभूषा लगायत विभिन्न धार्मिक मठमन्दिर, भेषभुषा, रीतिरिवाज, संगीत, कलाकौशल आदि सबैको सम्मिश्रणले नेपालबाट विश्वमा प्रवर्धन गर्न सकिने अनेकन् सम्पदाहरू तथा सफ्ट पावरहरू उपलब्ध छन् । तर खास यसतर्फ कुनै ध्यान गएको पाइँदैन । यी धरोहरलाई सरकार, निजी क्षेत्र तथा विदेशस्थित नेपाली डायस्पोराको संयुक्त प्रयासबाट निकै प्रवर्धन गर्न सकिनेछ । यसतर्फ सक्रियता आवश्यक पर्दछ । विश्वमा नेपालप्रति लगाव, चाहत तथा स्नेहको रिजर्भवाएर रहेको अनुभव गर्न सकिन्छ ।
४. शान्ति सेना- नेपालको एक महत्वपूर्ण सफ्ट पावर शन्ति सेना पनि हो । संयुक्त राष्ट्रसंघमा सदस्यता लिएको ३ वर्षपश्चात् सन् १९५८ देखि नै नेपालले विश्वका विभिन्न समस्याग्रस्त देशहरूमा स्थापित शान्ति सेनामा योगदान दिंदै आएको छ । हालसम्म करिब १२०,००० अधिकृत—जवानहरूले लेबनान, कंगो, सुडान आदि देशहरू गरी झण्डै १५ वटा यस्ता मिसनहरूमा कामकाज गरी आएको तथा नेपाली शान्ति सेनाले आफ्नो कामको राम्रो मूल्यांकन पाएको छ । संख्याको दृष्टिकोणले हाल नेपाल नम्बर ३ मा रहेको भए तापनि आउँदा दिनमा अझ माथि उक्लन सक्ने गुन्जायस रहेको छ ।
५. सोच तथा बानी व्यवहारमा परिवर्तन- हामी नेपाली समयको पर्वाह नगर्ने वर्गमा पर्दछौं । अब यो सोच तथा व्यवहारमा परिवर्तन गर्नु अपरिहार्य छ । हीन भावनालाई त्यागी अव सकारात्मक सोच तथा व्यवहार लिई अगाडि वढ्नु जरूरी छ । शान्ति, मेलमिलाप तथा एक आपसमा सहयोगी वातावरणमा अभिवृद्धि गर्नु जरूरी छ । यो देश सबैको साझा भन्ने भावना जागृत गराई सबैले देश विकासको काममा सक्दो योगदान पुर्‍याउनु पर्दछ । राजनीति तथा कूटनीति सग्लो भएमा यसबाट देशलाई विभिन्न प्रकारले प्रगतिको बाटोमा लम्काउन मद्दत हुन जान्छ ।
६. समाजको शुद्दीकरण- हाम्रो नेपाली समाजमा व्याप्त नकारात्मक सोच, व्यवहार तथा आचरणलाई शुद्दीकरण गरिनु पर्दछ । नकारात्मक प्रवृत्ति तथा आचरणले समाजमा गलत बाटोमा अग्रसर गराउँछ । हाल देशमा भरहेका विभिन्न प्रकारका हत्या, हिंसा तथा बलात्कारका घटनाले समाज कतातिर गैरहेको छ भन्ने प्रश्न उब्जाउँछ । आध्यात्मिक सोच तथा मननले हाम्रो आत्मालाई शुद्ध गराइदिन्छ । मनमा भएका विकार तथा नकारात्मक विचारहरूलाई फ्याँकिदिन्छ । एक बारको जिन्दगीको मूल्यप्रति सचेत गराइदिन्छ । सत्कार्यमा लाग्न प्रेरित गराइदिन्छ । अन्ततोगत्वा देशको एक सच्चा नागरिक भएर आफ्नो घर, परिवार, समाज तथा देशलाई सक्दो योगदान दिन सक्ने नागरिक बनाइदिन्छ ।

श्रेष्ठ फ्रान्सका लागि पूर्वराजदूत हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot