Logo

डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै, यस्तो छ तीनदिने कार्यतालिका



काठमाडौं, ८ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक आज नेपाल आउँदै छन् । डब्लुएचओ का महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी आज नेपाल आउने भएको हो ।

तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस आज १२ः २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्ने कार्यतालिका रहेको छ ।

कार्यक्रम तालिका अनुसार इन्डिगो एयरलाइन्सको फ्लाइट नम्बर टभ्घज्ञमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने उल्लेख छ । उनलाई विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्साल, स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रा र नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजिव पाण्डव जाने भएका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस विमानस्थलबाट सीधै होटल म्यारियट प्रस्ताव गर्ने छन् । त्यसपछि लन्च खाएर ३ बजे स्वास्थ्यमन्त्री विरोध खतिवडा भेट्न उनी स्वास्थ्य मन्त्रालय जाने छन् । भोलि ४ बजे परराष्ट्र पुगेर महानिर्देशक टेड्रोसले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने छन् ।

५ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेपछि महानिर्देशक टेड्रोस त्यहाँबाट सीधै बत्तिसपुतलीस्थित द्वारिका होटलमा स्वास्थ्यमन्त्री खतिवडाले आयोजना गरेको रात्रीभोज खान ७ बजे पुग्ने छन् ।

तीनदिने नेपाल भ्रमणमा आउन लागेका डब्ल्यूएचओका महानिर्देशक टेड्रोस पर्सी बिहान ब्रेक फास्ट गरेर प्रधानमन्त्री निवास बालुवाटारमा ९ः१५ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जाने कार्यक्रम तय भएको छ । भेटघाट कार्यक्रम भने ९ः३० मा राखिएको छ ।

प्रधानमन्त्री देउवालाई भेटेपछि महानिर्देशक टेड्रोस राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल निवास पुग्नेछन् । राष्ट्रपति भण्डारी र महानिर्देशक टेड्रोसबीचको भेटघाट कार्यक्रम भने पर्सी साढे १० बजेका लागि तय गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई भेटेपछि उनी स्कुलमा राखिएको टाइफाईड भ्याक्सिनको उद्घाटन समारोहमा पुग्ने छन् । शुक्रबार २ बजे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेर ३ बजे पाटन दरवार स्क्वायर घुम्न जाने कार्यक्रम तय भएको छ । महानिर्देशक टेड्रोस त्यसपछि स्वास्थ्य मन्त्रालयले म्यारियट होटलमा राखेर अनौपचारिक रात्रीभोजमा सहभागी भएर आराम गर्नेछन् ।

शनिबार बिहानै ब्रेक फास्ट गरेर उनी ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा पुग्ने कार्यक्रम रहेको छ । ९ः३० बजे विमानमार्फत महानिर्देशक टेड्रोस जेनेभा प्रस्थान गर्नेछन् । उनलाई विदाइ गर्न परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्साल, स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगीता कौशल मिश्रा र नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजिव पाण्डव जानेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot