Logo

उद्योगी व्यवसायीहरुको मतदान



काठमाडौं, ३० बैशाख । लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रुपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।

देशभर आज स्थानीय तहको निर्वाचन भएको हो । निर्वाचनमा सक्रिय सहभागिता जनाउनका लागि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले देशभरका उद्योग प्रतिष्ठानमा बिदा नै दिएको थियो । यस्तै, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले पनि सक्रिय सहभागिता जनाउन आग्रह गरेको थियो ।

संविधान घोषणापछि दोस्रो पटक हुनलागेको निर्वाचनमा सक्रिय सहभागिता जनाउनु र सहभागीता जनाउनु सबै नागरिकको कर्तव्य रहेको भन्दै व्यावसायीक संघसंस्थाले सार्वजनिकरुपमा नै आह्वान गरेका थिए । यसै क्रममा बैंकर, व्यवसायी तथा उद्योगीले पनि सक्रियताका साथ सहभागी भएका हुन् ।

निर्वाचनमा उद्योगी व्यवसायीदेखि बैंकर सहभागी भएको तस्विर सार्वजनिक गरेका छन् । लोकतन्त्रमा आफ्ना प्रतिनिधि छान्ने अधिकार भएको भन्दै व्यवसायीले अन्य नागरिकलाई पनि मतदान गर्न आग्रह गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकर अनिल केशरी शाहले सक्रियताका साथ मतदान गरेका छन् ।

उद्योगी तथा नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नवलपुरको देवचुली नगरपालिका–२ को दिव्य युवा समाज भटक मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौँको सितापाइला स्कुलबाट मतदान गरेका हुन् । अध्यक्ष गोल्छाले मतदानपछि सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,“मलाई मेरो संविधानले दिएको सबैभन्दा ठूलो शक्ति ।”

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पनि काठमाडौँको विशालनगरमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् । आइएमई समूहका अध्यक्षसमेत रहेका ढकालले अन्य मतदातासमेतलाई सक्रियताका साथ मतदानमा भाग लिन आग्रह गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघकै पूर्वअध्यक्ष पशुपति मुरारकाले काठमाडौँको थापाथलीको गुहेश्वरी माविबाट मतदान गरेका हुन् । मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्, “भोट हालियो, आशा गरौँ हाम्रो एक एक भोटले काठमाडौँको मुहार फेरिने छ ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले काठमाडौँ महानगरपालिका–१ नारायणी हिटी दरबार मतदान केन्द्रबाट आफ्नो अधिकारको प्रयोग गरे।

उनले मतदानपछि लेखेका छन् “मैले भोट गरेँ, के तपाईंले गर्नुभयो रु यदि छैन भने कृपया आफ्नो मतदान केन्द्रमा जानुहोस् र गरिहालनुस् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot