Logo

कांग्रेस हुन सक्ने कुरा मात्र गर्छ, एमाले हुनै नसक्ने मात्र कुरा गर्छः मीन विश्वकर्मा



काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा नयाँपनमात्र देखेकाले तीन घण्टा पाँच मिनेट बोल्न सकेको बताएका छन् ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “सरकारको नीति तथा कार्यक्रममा नयाँपन दिने नाममा पूर्वलाई पश्चिम, पश्चिमलाई पूर्व, उत्तरलाई दक्षिण, दक्षिणलाई उत्तर गर्ने होइन । सरकारले विगतका राम्रा कामलाई निरन्तरता दिएको छ, रेल, पानीजहाज, भान्सामा ग्यासपाइप जस्ता कार्यक्रम राखेको छैन । कांग्रेसको नेतृत्वको सरकारले हुन सक्ने मात्र कुरा गर्छ, एमालेको सरकारले हुन नसक्ने मात्र कुरा गर्छ ।”
कांग्रेस नेता विश्वकर्माले केपी ओलीले जस्तो यो सरकारले चीनबाट रेल ल्याउने कुरा नगरेको प्रस्टीकरण पनि दिए । उनले भने, “सरकारले नेपालभित्र रेल ल्याउने कुरा गरेको छ, चाइनाबाट रेल ल्याउने कुरा गरेको छ । चाइनाको रेल सिगात्सेसम्म आएको छ । त्यहाँबाट केरुङ ५२५ किलोमिटर छ, केरुङबाट काठमाडौं २५० किलोमिटर छ । त्यसैले तत्काल सम्भव छैन । हामीले ल्याउने भनेको रक्सौलबाट पूर्वपश्चिम रेल हो । त्यो पनि अनुदान, सस्तो ऋणबाट हो ।”
उनले केपी शर्मा ओली सरकारलाई कांग्रेस वा देउवाले भ्रष्ट नभनेको पनि बताए । उनले भने, “केपी ओलीको सरकारलाई ट्रान्सपरेन्सी इन्टरनेसनलले सबभन्दा भ्रष्ट भनेको हो । नेपाली कांग्रेस वा सभापति शेरबहादुर देउवाले भ्रष्ट भनेको होइन । ओली सरकारको पालामा काण्डैकाण्ड । सम्बन्धित निकायले छानबिन गर्न खोज्दा निष्क्रिय बनायो ।”
गठबन्धनबाट सत्तारुढ दलहरुलाई कुनै घाटा नभएकाले निरन्तरता दिइने उनले बताए । विश्वकर्माले भने, “यो गठबन्धन बृहत् राष्ट्रिय राजनीतिक उद्देश्यबाट बनेको हो । यो पार्टीहरुबीचको स्थायी एकता होइन । राजनीतिक स्थिरता र रणनीतिक हिसाबले बनेको हो । यसले कांग्रेसलाई बेफाइदा देखाएको छैन । माओवादी केन्द्रलाई पनि निराश बनाएको छैन । एकीकृत समाजवादी, जनता समाजवादी पार्टी पनि बेखुसी हुनुपर्ने देखिएको छैन । गठबन्धन मुलुकलाई आवश्यक छ । गठबन्धन तौड्यौं वा मौड्यौं भने मुलुकलाई अप्ठेरो पर्छ । ओलीलाई हराउन होइन, गठबन्धनलाई जिताउन गठबन्धन बनेको हो ।”
उनले बालेन शाहको विजयले कांग्रेसलाई घाटा नभएको पनि औंल्याए । विश्वकर्माले भने, “स्थानीय तहमा विजयी स्वतन्त्र उम्मेदवारहरुका कारण हामी झस्याङ्ग हुनुपर्ने स्थिति चाहिँ छ । तर कांग्रेसले यसलाई असामान्य रुपमा लिएको छैन । हामीले सरदर उम्मेदवार प्रस्तुत गर्दा जनतालाई नौलो स्वाद वा छनोट भएन होला । तर विद्यासुन्दर शाक्यले जित्दा घाटा भएन भने बालेन शाहले जित्दा कांग्रेसलाई के घाटा हुन्छ र ? बालेन शाह कांग्रेसका लागि खतरा होइन । स्थानीय तहमा विजयी स्वतन्त्र उम्मेदवारहरुलाई कांग्रेसबाट कुनै बाधा अवरोध हुँदैन । आखिर जसले जिते पनि विकास गर्ने हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot