Logo

चेपाङ समुदायकै सिभिल इञ्जीनियर मनिष



काठमाडौँ,२ असार । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका छन् । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जीनियरिङ कलेजबाट उनले सिभिल इञ्जीनियर उत्तीर्ण गरेका हुन् । संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ ।

पिता तिलक चेपाङ र आमा लक्ष्मी चेपाङको कोखबाट विसं २०५५ मङ्सिर ६ गते जन्मिएका मनिष सानैदेखि पढाइमा अब्बल थिए । उनले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अङ्क ल्याएका थिए भने विज्ञान विषय लिई अध्ययन गरेका मनिषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अङ्कप्राप्त गरेका जनाइएको छ ।

नेपाल चेपाङ सङ्घ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालयहरूको सङ्गठन प्याब्सन र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको संयोजक तिलक चेपाङले जानकारी दिए ।

मलेखुस्थित पशुपति शिक्षा मन्दिरबाट विद्यालय जीवन सुरु गरेका मनिषले काठमाडौँको माउन्ट सिनाई स्कुलबाट ८७ प्रतिशतसहित एसएलसी उत्तीर्ण गरेका थिए । सरकारको सिफारिसमा छात्रवृत्तिसहित नोबल एकेडेमीमा ८४ प्रतिशत ल्याएर उत्तीर्ण भएका थिए । मनिष भविष्यमा सफल सिभिल इञ्जीनियर बनेर स्वदेशकै ग्रामीण सडक, पुल, जलविद्युत्, सुरुङ निर्माण क्षेत्रमा सेवा गर्न चाहन्छन् । उनी आफ्नो क्षेत्रबाट लोकसेवा आयोग प्रतिस्पर्धा गरेर सरकारको पहिलो मुख्यसचिव बन्ने लक्ष्य लिएको पनि बताउँछन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot