Logo

चन्द्रागिरी केबलकारमा एकैदिन दुईपटक समस्या



काठमाडौं, असार २३ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार सरपरिवार चन्द्रागिरी पुगेका थिए। सोही क्रममा दिउँसो केबलकारको यात्रामा निस्किए।

उनको यात्रा सुरूभएर बीचमा पुग्दा एकाएक विद्युत आपूर्तिमा समस्या आएपछि उनको यात्रा रोकियो। झण्डै २५ मिनेट रोकिएपछि उनको ‘रेस्क्यु’ गरिएको उनको सचिवालयले जनाएको छ।

त्यसपछि फेरि केही समय चलेको केबलकारमा ४ बजेपछि फेरि उसैगरी समस्या आइलाग्यो। उसैगरी विद्युत आपूर्तिमा समस्या आएपछि चन्द्रागिरीस्थित भालेश्वर मन्दिर दर्शन गर्न गएका झण्डै चारसय जना उतै फसेका छन्।

यो समाचार तयारपार्दासम्म उनीहरू फर्किसकेका थिएनन्। नेपाल प्रहरीको टोली उद्धारका लागि खटिएको थियो। उनीहरूलाई बसमार्फत भएपनि फर्काउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले जनाएका थिए। ‘हाम्रो टोली नै अहिले उद्धार कार्यमा खटेको छौं। आजै सबैको उद्धार गरेर गन्तव्यमा पठाउछौं,’ उनले भने।

बुधबारमात्रै होइन, चन्द्रागिरी केबलकारमा झण्डै ४ महिनाअघि पनि यस्तै समस्या आएको थियो। तर यसरी देखिने समस्या सामान्य नै रहेको केबलकार सञ्चालक चन्द्रागिरी हिल्स प्रालीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘यस्ता समस्या सामान्य नै हुन्छन्। विश्वका जताका केबलकारमा पनि देखिने गर्छन्,’ उनले भने, ‘विद्युतीय साधन भएकाले तारहरू कहिले मुसाले काट्ने र कहिले सर्ट हुने पनि हुन्छन्।’ तर यस्ता समस्याले दुर्घटना भने ननिम्त्याउने उनले बताए।

‘यसरी रोकिँदा पहिला १० मिनेट कमजोरी खोजिन्छ। तत्काल भेटिने सम्भावना नभए रेस्क्यु पठाएर उद्धार गरिन्छ,’ उनले भने। यसोगर्दा सामान्यतयाः २५/३० मिनेट लागिहाल्ने उनले बताए।

यस्ता समस्यालाई ठूलै रूपमा लिन नहुने अध्यक्ष ढकालले बताए। उनले भने, ‘प्राविधिक कुराहरूमा यस्ता स–साना फल्ट देखिन्छन्। तर डराइहाल्नुपर्ने, दुर्घटना भइहाल्छ भन्ने हुँदैन। केबलकार एकदमै सुरक्षित हुन्छ।’ यसैबीच, चन्द्रागिरीमा फसेका ४ सय ६६ जनाको सकुशल उद्धार गरिएको कम्पनीले जानकारी दिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्