Logo

मनसुनजन्य विपद्का ३७ दिन, ४ सय ४० घटना, ६४ जनाको मृत्यु



काठमाडौं, असार २४। मनसुनजन्य विपद्का ३७ दिनमा देशभर ६४ जनाको ज्यान गएको छ । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको मानिएको छ । सो मिति यता २३ असारसम्मको ३७ दिनमा मनसुनजन्य विपद्का ४ सय ४० घटना भएको र ती घटनामा परी ६४ जनाको ज्यान गएको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको हो ।

यसैगरी, यो अवधिमा एक जना बेपत्ता तथा १ सय २१ जना घाइते भएको र ५ सय ७३ परिवार प्रभावित भएको केन्द्रले जनाएको छ । यस वर्ष नेपालमा मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आँकलन छ ।

३७ दिनको यो अवधिमा सबैभन्दा बढी २४ वटा घटना झापामा र त्यसपछि २१ वटा घटना कैलालीमा भएको छ भने मृत्यु कैलाली, कञ्चनपुर, तनहुँ, बागलुङ, धादिङ पाँचथर, संखुवासभा र ताप्लेजुङमा बढी भएको पाइएको छ ।

कैलालीमा चार, कञ्चनपुरमा तीन, तनहुँमा तीन, बागलुङमा तीन, धादिङमा तीन, पाँचथरमा तीन, संखुवासभा, सप्तरी, चितवन, मकवानपुर, गोरखा, गुल्मी, रोल्पा, प्युठान, बर्दिया, सल्यान, ताप्लेजुङमा दुई÷दुई जनाको मृत्यु भएको छ । यसैगरी खोटाङ, मोरङ, झापा, सुनसरी, सोलुखुम्बु, रौतहट, बारा, पर्सा, सिन्धुली, स्याङ्जा, नवलपरासी, नवलपुर, रूपन्देही, कपिलवस्तु, बाँके, डोल्पा, कालिकोट, सुर्खेत, अछाम, दार्चुला र डडेल्धुरामा एक(एक जनाको ज्यान गएको केन्द्रको तथ्यांक छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी र जनावरको आक्रमणका घटनामा परी यो समयमा धेरैको ज्यान जाने गरेको छ ।

मनसुनजन्य विपद्का घटनाका कारण यो अवधिमा २४ करोड ५५ लाखभन्दा बढीबराबरको आर्थिक क्षति भइसकेको छ । मनसुनजन्य विपद्का घटनामा बाढीभन्दा पहिरोका कारण बढी मानवीय क्षति हुने गरेको छ भने भौतिक क्षति बाढीका कारण बढी हुने गरेको पाइन्छ ।

प्राधिकरणका प्र्रवक्ता डा डिजन भट्टराईले यस वर्ष प्राकृतिक प्रकोपले ४ लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमान प्राधिकरणले गरेको जानकारी दिए ।

यस वर्षको मनसुन गत १८ जेठबाट सुरु भई १४ असोजसम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान छ । चार महिनाको मनसुनको यो अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्