Logo

विश्वले दुःख पाइरहेको रुस-युक्रेन युद्धमा कस्को के स्वार्थ



काठमाडौं, २८ असार । रुस र युक्रेनबीचको युद्धको असर सँसारभर छ । इन्धन देखि खाद्यान्नसम्मको मूल्यवृद्धि भएको छ । एक वर्षमै दोब्बरभन्दा बढी इन्धनको मूल्यवृद्धि भएको छ ।

मूल्यवृद्धिले सँसारभरका सर्वसाधारण मारमा छन् । खाद्य संकट बढेर भोकमरीमा पर्नेको संख्या बढेको छ । स्थिति भयावह बन्दैछ ।
नेपालमा समेत रुस-युक्रेन युद्धको ठूलो असर देखिइसकेको छ । श्रीलंका टाट पल्टिएको छ । अफ्रिकी देशहरुमा संकट छ । यूरोप महङ्गीको मारमा परेको छ । विश्वभर मानिसहरुको खर्च गर्ने क्षमता घटेको छ ।

कोरोना भाइरसको महामारीले पुर्याएको आर्थिक क्षतिभन्दा डरलाग्दो क्षति रुस युक्रेन युद्धले पुर्याउन थालेको छ । यसले विश्वको राजनीतिक र आर्थिक व्यवस्थामै हलचल ल्याएको छ ।

यस्तो युद्धको कारणमा रुस र युक्रेनमात्र होइनन् । विश्वका शक्तिराष्ट्रहरुको अस्वस्थ प्रतिष्पर्धा पनि कारण हो ।

पूर्वसोभियत राज्य रुस र युक्रेन दुवै छिमेकी देश हुन् । तर, दुवैबीच सम्बन्ध चिसिदै गयो । युक्रेनले आणविक हतियारको महत्वाकांक्षा राख्यो । उसले नाटोको सदस्यता लिन खोज्यो जुन रुसका लागि असह्य भयो । उसले आफ्नो सामरिक स्वार्थमाथि प्रहार देख्यो । विशेषगरी अमेरिका र यूरोपका बेलायतलगायत शक्तिशाली देशहरुले युक्रेनमार्फत् चुनौती दिएको ठान्यो ।

युक्रेनको युद्धमा रुसलाई अप्रत्यक्षमाथि चुनौती दिनेमा अमेरिका र बेलायत मुख्य हुन् । अमेरिका, बेलायतलगायत उसको धुरीमुनी रहेका देशहरु रुसको विश्वभर आक्रामक उपस्थितिलाई चुनौती दिन बढेका छन् । अफगानिस्तानमा पश्चिमा शक्तिले धक्का खानुमा रुसको भूमिका पनि देखियो । यसमा चीनले पनि चाल चाल्यो । बदलामा अमेरिकाले पनि रुसलाई चुनौती दिन थाल्यो । फलस्वरुप युक्रेन युद्धभूमिमा परिणत भयो ।

अहिले जसरी रुस र युक्रेनबीच युद्ध लम्बिदै गएको छ । यसले युक्रेन तहसनहस भइसकेको छ । रुसले भने क्षति भन्दा फाइदा बढी लिन थालेको छ । उसले इन्धन चर्को मूल्यमा बेचिरहेको छ । खाद्यान्नको मूल्य वृद्धिको फाइदा पनि रुसलाई नै पुगेको छ । रुसी तेल खरिद गरेर चीन र भारतले सबैभन्दा लाभ लिइरहेका छन् ।

खाद्य संकट बढेर मूल्य वृद्धि हुन नदिन भारतले चार्तुयता देखाएको छ । उसले गहुँलगायत कतिपय गेडागुडी निर्यात बन्द गरिदिएको छ । अर्कोतर्फ, रुसबाट भारी छूटमा कच्चा तेल खरिद गरेको छ । अन्य देशलाई विक्री गर्दा अन्तर्राष्ट्रिय मूल्यमै बेचिरहेको छ ।

युद्धले सबैभन्दा ठूलो मारमा आयातमुखी अर्थतन्त्र भएका देशहरु परेका छन् । त्यसकारण श्रीलंका टाट पल्टियो । अन्य देशहरुमा पनि ठूलै संकट आउने खतरा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot