Logo

सामाजिक एकता पार्टीको नीति तथा कार्यक्रम सार्वजनिक, धर्मनिरपेक्षतादेखि पूर्ण धार्मिक स्वतन्त्रतासम्म मुख्य एजेण्डा



काठमाडौं, १० साउन । सामाजिक एकता पार्टीले लोकतन्त्रविरोधी शक्तिहरुद्धारा संघीयता, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायमाथि आक्रमण भइरहेको टिप्पणी गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत पार्टीको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त पार्टीले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि आक्रमण भएको गुनासो पोखेको हो । परिवर्तनकारी भनिएका तह र तप्काबाट पनि आक्रमण भइरहेको उसको निश्कर्ष छ । पार्टीले सातै प्रदेशस्तरका प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । साथै, प्रदेश समितिहरु गठन तथा समायोजन र विस्तार गर्ने जनाएको छ ।

संघीयता, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार र मौलिक हकको प्रत्याभूति, धर्मनिरपेक्षता, पुर्ण धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्तत्रा, प्रेस स्वतन्तत्रा, आर्थिक स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, शान्तिपुर्ण सह–अस्तित्व, सहमति सहकार्य र एकता आदिमा प्रतिवद्ध रहनेपनि उक्त पार्टीको नीति तथा कार्यक्रममा उल्लेख छ । औषधी उत्पादन गर्ने कम्पनीहरुसँग गुणस्तरीय औषधी उत्पादन गर्न र औषधीमा आत्मनिर्भर बनाउन पार्टीले ती कम्पनीसँग सक्दो सहकार्य गरी सहज वातावरण सिर्जना गर्ने पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिबी गहतराजले आफ्नो पार्टीको संरचना देशभर विस्तारित भएको बताएका छन् । नेपालमा रहेका सबै खालको विभेदको अन्त्य गर्ने आफ्नो पार्टीको मुख्य उद्देश्य रहेको सुनाए । उनले जनताको बुई टेकेर गएका ठुला राजनीतिक दलले जनतालाईनै बिर्सेर केही नगरेको आरोप लगाए ।

उनले दलका विभिन्न खालका परिवर्तनका नारा सुन्दै आएको र स्वरुप फेरिएपनि जनताको सवाल जहाँको त्यँही रहेको टिप्पणी गरे । दलहरुले जनताको सवालहरु कागजमा मात्र सिमित गराएको उनको भनाई थियो ।

दलहरुले केही नगरेपछि जनता छट्पटाइरहेको भन्दै उनले आफ्नो पार्टीले त्यस्ता विभेद हटाउनेसमेत बताए । उनले भने,‘अन्याय र शोषणको शिकार भएका सबै नेपालीहरुलाई हाम्रो पार्टीमा स्वागत छ, तपाईँहरु आउनुहोस्, सहकार्य गरौं ।’

अध्यक्ष गहतराजले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र कार्यकारी राष्ट्रपतिको पक्षमा आफ्नो पार्टी रहेको समेत स्पष्ट पारे । उनले भने,‘पारदर्शी सुसाशन, भ्रष्टाचारमुक्त, रोजगारीको सुनिश्चितता समेतको व्यवस्था गरी देशलाई समृद्ध बनाउने पार्टीको मुख्य अभियान हो ।’

नेपाली जनता राजनीतिक दलले गरेका गलत कामको मुकदर्शकमात्र भएको भन्दै उनले शक्तिको दुरूपयोग गरेर, भागवण्डा गरेर नाटकीय रुपमा जनतालाई सधैं प्रयोग गर्दै आएको टिप्पणी गरे । दलहरुले नेपाली जनतामाथि नाँगो नाच देखाएको उनको भनाई थियो ।

अहिले धर्मनिरपेक्षताको विरुद्धमा केही मुठ्ठीभरका व्यक्तिहरु सलबलाउन थालेको भन्दै उनले धर्मनिरपेक्षको बारेमा देशमा गलत परिभाषित गरिएको बताए ।
उनले आफ्नो पार्टीले उक्त गलत परिभाषालाई सच्याउँदै विश्वको धर्मनिरपेक्षताको मोडल अनुसार देशभित्रका सबै जाति, भाषा, धर्मको सम्मान गर्दै आस्थाको केन्द्रको संरक्षण गर्ने व्यवस्थाको स्थापना गर्नेपनि विश्वास दिलाए ।

गहतराजले सामाजिक न्यायसहितको उन्नत लोकतन्त्र पार्टीको मूल नारा भएकोसमेत उल्लेख गरे । उनले आफ्नो पार्टीले हरेक नागरिकको जीउधन सुरक्षा, उसको स्वतन्त्रता र खुशीलाई पहिलो प्राथमिकता दिने बताए । सबै प्रकारको असमानता र विभेदको अन्त्य गरी लोककल्याणकारी राज्यको अवधारणाअनुरुप कार्य गरिने उनको भनाई थियो ।

पार्टीका प्रवक्ता मुरारी पाण्डेले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष रोशन खतिवडाले प्रेश विज्ञप्ती पढेर सुनाएका थिए । उनले सामाजिक न्यायको नारा लिएर छोटो समयमा नै आफ्नो पार्टी लोकप्रिय भएको बताए । उक्त पार्टीको चुनावचिन्ह गीतार रहेको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot