Logo

सिएमसीले चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल बनायो, दशैंअघि नै सञ्चालनमा आउने



काठमाडौं, २३ साउन । चितवन मेडिकल कलेज (सिएमसी) ले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको अस्पताल प्रशासनले जनाएको छ ।

सिएमसीले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । दसैँअघि नै रेडिएसनको सेवा दिनेगरि काम भैरहेको जनाईएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जनाए ।

उनले भने,“नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन । भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान गरिएको छ ।’ अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै १ अर्ब २७ करोड खर्च गरेको उनको दाबी छ ।

अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी २ अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाई छ । उक्त इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने जनाईएको छ ।

ट्रियुबिम मोडलको भेरिएन कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो । चितवन मेडिकल कलेजसँगै छ तले ४८ हजार स्क्वायर फिटको भवनमा बङ्करसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्