Logo

डा. प्रकाशचन्द्र लोहनीको प्रश्नः “आफूले जसको टाउकाको मोल तोकेको हो, उसैसँग टाउको जोड्नु के एजेन्डा हो ?”



काठमाडौं, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीबाहेक अन्य दलसँग राजनीतिक एजेन्डा नै नभएको आरोप लगाएका छन् ।
“आजको दिन एजेन्डा भएको एक मात्र दल राप्रपा हो । अरु दलको लुटेर खाने एजेन्डा मात्र छ । अरुसँग विकासको नाममा कुत खाने नवसामन्तवादबाहेक के एजेन्डा र सिद्धान्त छ ? आफूले जसको टाउकाको मोल तोकेको हो, उसैसँग टाउको जोड्नु केको एजेन्डा हो ? नेपालको अस्तित्व र पहिचान जोगाएर जनताले शासन गर्ने र अभिभावकीय भूमिका राजसंस्था राप्रपाको एजेन्डा हो । सबै नेताहरुको सम्पत्ति जाँचबुझका लागि आयोग बनाउनुपर्छ भन्ने पनि राप्रपाकै एजेन्डा हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. लोहनीले भने ।
चुनावी तालमेलका लागि नेकपा एमालेसँग कुराकानी चलिरहेको पनि उनले बताए । उनले भने, “नेकपा एमालेसँग विभिन्न तहमा संवाद चलिरहेको छ । तर अहिले नै यतिउति भन्नु उपयुक्त हुँदैन । अहिलेको अवस्थामा एक्लै जाँदा हानिनोक्सानी हुन्छ ।”
परराष्ट्र मन्त्री डा. नारायण खड्का चीन जानु सकारात्मक भएको पनि उनले औंल्याए । डा. लोहनीले भने, “चीनका अधिकारी आउनु र नेपाली अधिकारी जानु सकारात्मक कुरा हो । यसले सम्बन्ध बलियो बनाउन मद्दत नै गर्छ । चीनको बीआरआई लाभ र प्रतिफल दिने परियोजनामा लगाउनु उचित हुने पनि उनले बताए । डा. लोहनीले थपे, परियोजनाबाट हुने लाभ र प्रतिफल पहिचान गर्ने र साउँब्याज तिर्ने क्षमतामा विश्वस्त हुने हो भने बीआरआई ऋण लिने कुरामा आपत्ति भएन । तर बीआरआई जस्तो एडीबी, वल्र्ड बंैकबाट सहुलियतपूर्ण ऋण हो कि होइन ? चीनबाट काठमाडौं आउने रेल परियोजना ऋण लिएर गरेर के हुन्छ ? विचार गर्नुपर्छ ।”
सीमा समस्यामा चीनसँग खुला कुराकानी आवश्यक भएको पनि डा. लोहनीले बताए । उनले भने, “नेपालको सीमा पुर्खाले हामीलाई दिएको लालपुर्जा हो । यसमा आएका समस्याबारे खुला छलफल गर्न सक्नुपर्छ । चीनसँग होस् कि भारतसँग ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot