Logo

वामदेव प्यूठानमा उठ्ने कुरो ‘वनको चरो के बास्छ, के बास्छ’ भनेजस्तै होः चित्रबहादुर केसी



काठमाडौं, ४ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले प्यूठान छाड्न नसक्ने बताएका छन् ।
“पहिले जितेका ठाउँ नछाड्ने भन्ने कुरा नै मोटामोटी मापदण्ड हो । जनमोर्चाले प्यूठान किन छाड्ने ? २०७४ मा जितेको ठाउँ छाड्ने कुरा आउँदैन । वामदेव गौतम प्यूठानबाट उठ्ने कुरा त वनको चरो के बास्छ, के बास्छ भनेजस्तै हो । पोहोर, परार पनि रामवीर मानन्धर, धनबहादुर बुढाको क्षेत्रमा जाने कुरा चलेकै हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने ।
प्रतिगमनको सम्भावना अझै भएकाले गठबन्धन अनिवार्य भएको पनि उनले औंल्याए । केसीले भने, “चुनाव हुने मंसिरमा हो । नरमकरम मिलाउनेबारे छलफल, बहस चल्दै गर्छ । तुरुन्तातुरुन्तै मिल्ने भए ११६ पार्टी किन हुन्थे र ? अहिले पनि प्रतिगमनले हारेकै छैन । दाह्रानंग्रा फिँजाएकै छ । संघ र प्रदेशको निर्वाचनसम्म मिलेर जानुपर्छ ।”

उनले आफ्नो पार्टीले गठबन्धनका शीर्ष नेताहरुसँग सिट दाबी गरेको पनि बताए । केसीले थपे, “दाबी गरेको सिटबारे अहिले म विज्ञापन गर्दिनँ । आफ्ना कुरा शीर्ष नेताहरुलाई राखेका छौं ।”
नागरिकता विधेयकमार्फत विदेशीलाई वंशजको नागरिकता दिलाउन लागिएको आरोप पनि केसीले लगाए । उनले भने, “हामी सत्तामा छैनौं । सरकारलाई समर्थन गरेका मात्र हौं । सरकारले जे भन्यो, आँखा चिम्लेर त्यही मान्ने होइन । देश निर्माण गर्न र बचाउन पो वंशजको नागरिकता दिने हो त । यसबारे हाममीले संविधान बनाउँदा नै नोट अफ डिसेन्ट राखेको हो । विदेशीलाई सरकारप्रमुख, सेना प्रमुख बनाउने षड्यन्त्र हामीलाई मान्य छैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot