Logo

प्रचण्डले देव गुरुङलाई किन महासचिव बनाए



काठमाडौं, ४ भाद्र । चुनावको मुखमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदाधिकारीको टुंगो लगाएका छन् । उनले कम्युनिस्ट पार्टीको शक्तिशाली पद संगठनमा बलियो पकड भएका कुनै पनि नेतालाई दिएनन् ।

माओवादीभित्र बलियो पकड रहेकामा वर्षमान पुन र जर्नादन शर्मा चिनिन्छन् । दुवै महासचिवका दाबेदार थिए । तर, प्रचण्डले दुवैलाई उपमहासचिवमा सिमित पारे । बाजी मारे देव गुरुङ्गले ।

माओवादी जनयुद्धमा पनि सक्रिय गुरुङ्ग विगतमा मोहन वैद्य निकट थिए । उनी माओवादी फुट्दा वैद्यसँगै गएका थिए । पछि फर्किए ।
रामबहादुर थापा बादलले माओवादी छाडेर एमाले रोज्दा गुरुङ्गलाई फाइदा पुग्यो । उनलाई माओवादीभित्र निष्ठाको राजनीति गर्ने नेताका रुपमा पनि चिनिन्छ । कुनै बलियो गुट नबनाएका देव गुरुङ्ग बोलीका पनि पक्का छन् । त्यसकारण पनि प्रचण्डको रोजाईमा परे ।

वर्षमान पुन या जर्नादन शर्मामध्ये कुनै एकलाई बनाउँदा असन्तुष्टि बढ्ने सम्भावना थियो । सिनियरलाई पन्छाएको सन्देश पनि जान्थ्यो । प्रचण्डलाई अर्कोतर्फ भविष्यमा वर्षमान र जर्नादनले चुनौती दिनेमा पनि चिन्ता थियो । उनले चाँडै नेतृत्व हस्तान्तरण नगर्ने बताइसकेका थिए । यसकारण पनि ६० वर्ष उमेर कटेका देव गुरुङ्गलाई नै रोजे । ५१ वर्षका वर्षमान र ५९ का जर्नादन शर्मा उपमहासचिवमा सिमित राखिए ।

पदाधिकारी चयनमा प्रचण्डले आफ्नो प्रभाव सुनिश्चित गरेका छन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई बनाएर पूर्व एकता केन्द्र पक्षधरलाई व्यवस्थापन गरेका छन् । कृष्णबहादुर महरालाई उपाध्यक्ष बनाएर वरिष्ठता कायम राखेका छन् । उपमहासचिवमा उस्तै उमेर पकड भएका नेताहरुको व्यवस्थापन गरेका छन् । उनले तत्काल माओवादी नेतृत्व हस्तान्तरण नगर्ने रणनीति समेत बनाएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot