Logo

‘सस्तो डलर’ को प्रलोभनमा ठगी धन्दा !



काठमाडौं, भदौ ८ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सोमबार एउटा सूचना आयो। सूचनामा आफूलाई ‘सस्तोमा अमेरिकी डलर दिने भन्दै केही व्यक्तिहरूले ठगी गर्नका लागि बोलाइरहेको’ भनेर भनिएको थियो।

ती सूचनादातालाई ठगी गर्ने व्यक्तिले आफूसँग १५ लाख बराबरको अमेरिकी डलर रहेको र जसलाई ७ लाखमा दिने भनेर प्रलोभनमा पार्न खोजेको थिए। ‘तर, ती सूचनादाता उनीहरूको नियतसँग जानकार रहेछन्,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले भने,‘उनले सिधै हामीलाई खबर गरेर ठगी गर्ने गिरोहलाई पक्राउ गर्न सघाए।’

त्यसपछि ती सूचनादातासँगै दिउँसो १ बजेतिर एकजना प्रहरी पनि साथमा गए। पछिपछि प्रहरीको बाँकी टोली पनि गएको थियो। यसरी दुवै समूहको भेट काठमाडौंको टोखा नगरपालिकास्थित युनिक कोलोनीमा भएको थियो।

ठगी गर्ने समूहका दुईजना आएका थिए। दुवैलाई प्रहरीले तत्काल पक्राउ गर्‍यो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडाघर स्थायी ठेगाना रहेर हाल काठमाडौंको बौद्धमा बस्ने ३२ वर्षीय समिर भनिने सञ्जय तामाङ र सिन्धुपाञ्चोक बाह्रबिसे–३ शसशेरडाँडा स्थायी ठेगाना रही हाल ललितपुर धापासी हाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेको एसपी कोइरालाले बताए।

दुबैजनासँग प्रहरीले ५ रूपैयाँका ३ सय २५ नोट, १० रूपैयाँको ९ नोट, २० रूपैयाँको १ सय ९ नोट नेपाली रूपैयाँ र अमेरिकी डलर १ दरको ८ सय नोट, ५० दरको ३७ नोट पक्राउ गरेको छ। पक्राउपछि दुवैको ठगी गर्ने उद्देश्य खुलेका एसपी कोइरालाले बताए।

उनले भने, ‘सस्तो दरमा अमेरिकी डलर उपलब्ध गराउने भनेर बाहिरपट्टी डलर र भित्रपट्टी नेपाली नोट र कागज राखेर ठग्ने नियत रहेको पाइयो।’ दुवैजनालाई ठगी एवं विदेशी बिनिमय ऐन, २०१९ अन्तर्गत अनुसन्धान र कारबाही प्रक्रियामा अघि बढाइएको एसपी कोइरालाले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot