Logo

खोइ तीज ? ह्वीस्कीले बगायो !



गीता आचार्य:  हरितालिका तीज विशेष गरी हिन्दू नारीहरुले मनाउँदै आएकाको एउटा महत्वपूर्ण सनातन पर्व हो । यो पर्व भाद्र शुक्ल द्वितिया देखि पञ्चमीसम्म मनाउने गरिन्छ । यो पर्व मुख्य गरेर नेपालमा मनाइन्छ भने भारतका केही ठाउँलगायत हिन्दुहरुको बसोबास भएका अन्य मुलुकमा समेत मनाउने गरिन्छ ।

धार्मिक रुपमा तीजमा उमामहेश्वरको पुजा गरी निराहार व्रत बसी भगवान शिवको आराधना गरिन्छ । नेपाली समाजमा परापूर्व कालदेखि नै तीजलाई विशेष महत्वको पर्वका रुपमा लिइन्छ । यस पर्वलाई पति पत्नी बिचको सम्बन्धलाई अझ प्रगाढ र प्रेमील बनाई उमामहेश्वरको पुजाद्वारा पति पत्नी एक अर्काका परिपुरक भएको प्रमाणित गर्ने, पति पत्नी बिच माया एवम् सद्भाव बढाउने पर्वसमेतका रुपमा तीजलाई लिइन्छ ।

सानै उमेरमा विवाह गरेर टाढा पुगेका छोरीचेलीका घरसम्मै माइती लिन जाने र माइतमा एकैसाथ सबै भेला हुने, रमाइलो गर्ने, दुःख सुख साटासाट गर्ने एवम् मिठो र स्वादिष्ट दर खाने, व्रत बसी सामुहिक रुपमा पुजाआजा गर्ने र नाचगान, गीत सङ्गीत, सङ्गीनीका माध्यमबाट आफ्ना वर्षभरिका पीर व्यथा, मनका कुण्ठा व्यक्त गर्ने, आदर सद्भाव व्यक्त गर्ने अवसर तीजले जुटाउँथ्यो, तीजले चेली माइतिको आत्मीयता बढाउने काम मात्र नभएर अपनत्वको विकास गराउँथ्यो ।

आफ्ना घरमा ढिँडो पिठो जो भएको खाएर बर्खाभरि खेतबारीमा काम गरेर, घाँस दाउरा मेलापातले थकित भएकी आफ्नी चेलीलाई वर्षको एक दिन भएपनि आराम र मिठोचोखो खुवाउँ भन्ने हेतुले आफ्ना माइती पक्षका दाजुभाइ-बुबा गएर ल्याउने चलन अझै पनि गाउँघरमा कायमै छ । यसमा कति आत्मीयता र आफ्नोपन छ, यो नै वास्तवमा तीज हो, हाम्रो मौलिक पर्व हो ।

तर हिजोआज खासगरी सहर बजारमा तीज भद्धा, भड्किलो, खर्चिलो तथा लज्जास्पद बन्दै गएको पर्वका रुपमा देखा पर्न थालेको छ । महिनौ अघिदेखि तीजका नाममा व्यवसायिक रुपमा विभिन्न गीतका क्यासेटहरु निकाल्नेको होड चलेको छ । महिनौ अघिदेखि दर खाने कार्यक्रम आयोजना गर्ने, तीजको मौलिकता दिनानुदिन हराउँदै गएको छ, मौलिकतालाई कुल्चिएर व्यवसायिक र छाडा प्रवृत्तिका गीत गाउने, अस्लील रुपमा नाच्नेको तँछाडमछाड चलिरहेको छ । फेसनका नाममा नयाँ वस्त्र फेरेर, गहना देखाउने, लोकाचारका लागि पुजा लगाउने र दरका नाममा महिनौ अघिबाट सार्वजनिक रुपमा गरिने सामूहिक खानपानको आयोजनाले तीजलाई विकृति तर्फ डोहो¥याउन थालेको छ । प्रायजसो दिदीबहिनीहरु आफुले लगाउने पहिरन एक पटक लगाएपछि दोहो¥याएर लगाउन नहुने, पहिरन अनुसारकै गरगहना लगाउनै पर्ने, तीज आउँदा अनिवार्यरुपमा देखासिकीका लागि हजारौँ खर्च गर्नै पर्ने आडम्बरयुक्त दृश्य त जताततै छरपस्ट देखिन्छ ।

नयाँ पहिरन फेर्दा मात्र, महिनौ अघिबाट दरका कार्यक्रममा सहभागी हुँदा, ह्वीस्की र रक्सीका ग्लासहरु चियर्स गर्दामात्र पर्व उत्साहजनक भएको मूल्याङ्कन गरिनु पर्वको मौलिकता माथिको प्रहार हो । पहिरन थोत्रो होस् तर मन भने सधैँ सफा र निश्चल होस् । यी र यस्ता किसिमका गतिविधिले हुनेखाने वर्गलाई त खासै फरक पार्दैन तर हुँदा खाने वर्गलाई त खल्लो अनुभूति गराउँछ नै । यस्ता प्रवृत्ति बढ्दै जाँदा हाम्रो मौलिक परम्परा दिनानुदिन हराइरहेको छ । यी र यस्तै अपाच्य गीत, नृत्य र हाम्रो स्वभावले समाजमा कस्तो असर पर्ला ? यो हामी किन सोच्दैनौ ? हामी स्वयम्ले सही र गलत छुट्यानै नसक्ने भएर हाम्रा पर्वहरु मनायौँ भने हामीबाट पछिल्लो पुस्ताले के सिक्ने ? यसर्थ यस्ता विकृतिहरुबाट सजग रहँदै तीजको मौलिकतालाई संरक्षण र संवर्दन गर्नु हामी सबैको कर्तव्य हो ।

हाम्रा सबै प्रकारका सकारात्मक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी भावी पिडीमासमेत स्थानान्तरण गर्न लायक राख्न हामी सबै जिम्मेवार भएर लाग्न सकौँ, आफ्नो कर्तव्य र दायित्व नभुलौँ । विश्वभरी छरिएर बस्नुभएका सम्पूर्ण नेपाली नारीहरुमा हरितालिका तीजको मंगलमय शुभकामना !

 



प्रतिक्रिया दिनुहोस्