Logo

देउवा काँग्रेसलाई एक्लै चुनावमा लान यसकारण तयार छैनन्



काठमाडौं, २४ भाद्र । आफूलाई भेट्दा नेपाली काँग्रेस एक्लै चुनावी प्रतिष्पर्धा गर्नुपर्ने भन्नेहरुलाई सभापति शेरबहादुर देउवाले हप्काउने गरेका थिए । जिल्लामा नखटिने अनि चुनावमा ठूला कुरा गर्ने भन्ने गरेका थिए । देउवाले आफूलाई प्राप्त रिपोर्टहरुबाट पनि काँग्रेस एक्लै एमालेलाई हराउन सक्षम छैन भन्ने निष्कर्ष निकालेका थिए ।

कुनै हालतमा सत्ता गठबन्धनबीच तालमेल गरेर चुनावमा सफलता हासिल गर्ने रणनीतिमा छन् देउवा । उनले आज पनि गठबन्धनबीच तालमेलको विकल्प नभएको बताए । यसबाट उनी पार्टीलाई एक्लै चुनावमा प्रतिष्पर्धा गराएर सफलता हासिल गर्नेमा ढुक्क नभएको बुझ्न सकिन्छ ।

स्थानीय चुनावमा तालमेल गर्दा पनि एमालेले गठबन्धनले आँकलन गरेको भन्दा बढी पालिका जित्न सक्यो । एमालेको मत हेर्दा एक्लै एक्लै चुनाव लड्ने हो भने २०७४ को चुनावमा जत्तिकै स्थानमा जित्न सक्ने सम्भावना देखिन्छ । यसकारण पनि देउवा गठबन्धन गरेर जाने पक्षमा छन् ।

एमालेको संगठन बलियो हुनु, कार्यकर्तालाई परिचालन गर्ने क्षमता राख्नु र अध्यक्ष केपी शर्मा ओलीले अनेकन रणनीतिहरु फाल्ने सम्भावना हुनुले पनि देउवा हच्किएका छन् । काँग्रेसको संगठन मजबुत नहुनु, बढी निर्वाचन क्षेत्र भएका तराई मधेशमा संगठनमा असर गर्नुले पनि काँग्रेसका लागि गठबन्धन वाध्यता बनेको हो ।

एकातर्फ, गठबन्धन काँग्रेसको वाध्यता बनेको छ अर्कोतर्फ सिट बाँडफाँटले पार्टीभित्र विद्रोहहरु हुने सम्भावना पनि देखिएको छ । तर, देउवा जस्तोसुकै मूल्य चुकाएर भएपनि गठबन्धनबीच तालमेल गरेर जाने पक्षमा उभिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot