Logo

कांग्रेस नेताहरू एमालेको सम्पर्कमा छन्ः महेश बस्नेत



काठमाडौं, १२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेसभित्र अन्यायमा परेका नेताहरु आफ्नो पार्टीको सम्पर्कमा रहेको बताएका छन् ।
“हामी मूलतः आफ्नै संगठनका भरमा निर्वाचन लड्ने तयारीमा छौं । राप्रपा, लोसपासँग पनि सहकार्यका लागि छलफल चलिरहेको छ । तर अन्तिम निष्कर्ष निस्केको छैन । कांग्रेसभित्र संस्थापनको पेलाइमा परेका र अन्यायमा परेको भन्ने साथीहरुसँग पनि कुराकानी भइरहेको छ । त्यसले पनि मूर्त रुप लिन बाँकी छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने । लोसपाले आफ्नो स्ट्रेन्थभन्दा बढी सिट मागेको पनि उनले औंल्याए ।
बस्नेतले एमाले अहिले गुटबन्दीमुक्त भएको पनि बताए । उनले भने, “पार्टीमा पहिले संस्थागत गुटबन्दी थियो । माधव नेपाल, प्रचण्डहरू निस्केपछि पिलो निचोरेर फालेजस्तो भएको छ । आफ्नो सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाउने प्रवृत्तिको अवशेष देखिएको छ । घनश्याम (भुसाल) कमरेडमा फरक देखाउने रोग छ । एक पाना लेखेर कमिटीमा र सार्वजनिक खपतका लागि मिडियामा बोल्नुहुन्छ । अरु नेतामा म त्यो समस्या देख्दिनँ ।” स्थानीय तहको निर्वाचनमा ८५ पालिकामा पार्टीकै अन्तरविरोधका कारण हारेकाले यसपटक सुधार्नुपर्ने पनि उनले  बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका १० भाइलाई आत्मालोचना गर्न लगाएको भन्ने कुरा अफवाह मात्र भएको पनि बस्नेतको दाबी छ । उनले थपे, “१० भाइ त उहिलेको कुरा हो । अध्यक्ष ओलीले टिकट लिन सर्त राखेको भन्ने कुरा गलत हो । अब उहाँहरुलाई १० बुँदेका नजरले हेर्नु अन्याय हुन्छ ।” आफूले संघीयता खारेज गर्नेभन्दा पनि समीक्षा गरौं भनेको बस्नेतले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot