Logo

गृहकार्य नगरेको भन्दै शिक्षकको कुटाइबाट ६ वर्षीय बालकको मृत्यु



एजेन्सी, १३ असोज । बिहारमा गृहकार्य नगरेको भन्दै एक शिक्षकले विद्यार्थीलाई यति धेरै कुटपिट गरेका छन् कि बालकको ज्यान गएको छ । उक्त घटना गयाको हो।

प्रहरीका अनुसार बालक बुधबार विद्यालयको गेटबाहिर अचेत अवस्थामा फेला परेका थिए । उनको पुरै अनुहार सुन्निएको थियो । उनको नाकबाट रगत बगिरहेको थियो । वर्दी पनि च्यातिएको थियो । अस्पताल लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको हो ।

पीडित बालक वजिरगञ्ज–फतेहपुर सडकमा रहेको बाढी बिघा गाउँ नजिकैको लिटिल लिडर्स पब्लिक स्कुलमा अध्ययनरत थिए । उनको घर विद्यालयबाट ३ किलोमिटर टाढा थियो, त्यसैले परिवारले उनलाई विद्यालयको होस्टेलमा राखेको थियो । बालकको मृत्युपछि परिवारले विद्यालयबाहिर हंगामा मच्चाएको छ ।

प्रहरीले बुधबार साँझ विद्यालयका निर्देशक विकास सिंहलाई पक्राउ गरेको थियो । उनीमाथि हत्या मुद्दा दर्ता गरिएको छ। बालकको मृत्युपछि विद्यालय पनि बन्द गरिएको छ । सबै बालबालिकालाई होस्टेलबाट पनि घर पठाइएको छ ।

बालकका हजुरबुवा रामबालक प्रसादले विद्यालयले बालकमाथि कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् । उनले बालकले यसअघि पनि कुटपिट भएको गुनासो गरेको समेत जानकारी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot