Logo

निवर्तमान सांसद प्रमोद साहको योजनामा सार्वजनिक पोखरीको जग्गा कब्जा गर्ने दाउ (दस्तावेजसहित)



काठमाडौं, १४ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिएका निवर्तमान सांसद प्रमोद साह पोखरीको जग्गा हडप्न खोजेको काण्डमा मुछिएका छन् । सर्लाहीको मलंगवा नगरपालिका वडा नं ६ खुटौनास्थित सार्वजनिक महारानी पोखरीको १२ कठ्ठा १२ धुरको जग्गा योजनावद्ध तरिकाले हड्प्ने योजनामा साह मुछिएका हुन् ।

साहले पोखरी रहेको वडाकी सदस्य कवितादेवी पासवानलाई कार्यवाहक वडाध्यक्ष बनाई सडक निर्माणको नाममा नक्शा देखाई विकासको नाममा किर्ते हस्ताक्षर गराएर योजनावद्ध तरिकाले जग्गा हडप्ने कदम चालेका हुन् । पासवान पढ्न जान्दिनन् । उनी हस्ताक्षर गर्न मात्र जान्दछिन् ।

यो घटनामा वडा सदस्य प्रेमलाल साह कानु र गौरी साहका अलावा निवर्तमान सांसद प्रमोद साहका पिता गणेश साहको रहोवरमा जालसाझी धोकाधडी तरिकाले हस्ताक्षर गराएको भन्दै कवितादेवी पासवानले षड्यन्त्रको खुलासा गरेकी हुन् ।

महारानी पोखरीको विषय उठेपछि प्रमुख जिल्ला अधिकारीले चासो दिए । उनी मेयर नगेन्द्र राय यादव कहाँ गएर आफूलाई जालसाझी गरेर हस्ताक्षर गराएको बताएकी छिन् । पोखरीको विषयमा अख्तियारमा विगत देखि नै उजूरी परेको छ । त्यसको जानकारी यसअघि वडाध्यक्ष भएका तैयब मिया मुकेरीले अख्तियारलाई फाइलसहित पठाएका थिए ।

हस्ताक्षर मात्र गर्न जान्ने दलित महिला वडासदस्यलाई बली बनाउने गरी जग्गाकाण्डमा हस्ताक्षर गराइएपछि निकै चासो बढेको छ । स्वयं महिला वडासदस्य कवितादेवी पासवानले आफूलाई फसाउन खोजिएको बताइन् । निवर्तमान सांसद प्रमोद साह र वडाध्यक्ष रामकैलाश राय यादवले आफूलाई झुक्याएको आरोप लगाइन् ।

यसबारे यथार्थ बुझ्न निवर्तमान सांसद प्रमोद साहसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । मोबाइलबाट सन्देश पठाउँदा पनि उनले कुनै जवाफ दिएनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot