Logo

देउवाका सहयोगी नै मुख्य प्रतिस्पर्धी



काठमाडौं, कात्तिक ३ । सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला डडेल्धुराको गन्यापधुरा–१ मा मध्यम वर्गीय परिवारमा जन्मेका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन्।

पाँचौंपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवालाई उनकै पार्टीका नेता तथा कार्यकर्ताले भाग्यवादी अर्थात् भाग्यमा विश्वास गर्ने नेताका रूपमा चित्रण गर्दछन्। ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेको कुरा बिनासंकोच सुनाउनपछि नपर्ने देउवा नेपाली राजनीतिमा सत्ता र शक्तिमाहिर खेलाडीका रूपमा चिनिन्छन्।

पञ्चायती शासन व्यवस्था प्रारम्भ भएसँगै २०२२ सालबाट संगठित राजनीतिमा लागेका देउवाले प्रधानमन्त्री, मन्त्री र अहिलेजस्तो सुखसयलको सायदै कल्पना गरेका थिए होलान्। मुलुकमा २०४७ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि अहिलेसम्म निरन्तर शक्तिको केन्द्रमै छन् उनी।

नेपाल विद्यार्थी संघको अध्यक्षदेखि पार्टी सभापति र पटकपटक प्रधानमन्त्रीको जिम्मेवारीमा देउवा पुगेका छन्। २०४८ सालपछि सत्ता र शक्तिको वरिपरि कहिले देउवा छन् भने कहिले देउवाको वरिपरि सत्ता र शक्ति घुम्दै आएको छ। पार्टीका नेतालाई मात्र होइन, विपक्षीलाई पनि मिलाउन सिपालु देउवा ज्योतिषले भनेअनुसार सातपटक प्रधानमन्त्री हुन लालायित छन्।

देउवाले मुलुकमा प्रजातन्त्र पुनर्बहालीपछि प्रतिनिधिसभा र संविधानसभा सदस्यका लागि भएका सबै निर्वाचनमा विपक्षी उम्मेदवारलाई भारी मतसहित ‘रिङ आउट’ गर्दै आएका छन्। देउवाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा अघिल्लो निर्वाचनका मुख्य प्रतिस्पर्धीलाई आफ्नै टिमबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएका छन्।

तीनपटक देउवासँग चुनाव हारेका माओवादी सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्ट अहिले प्रदेशसभा (क) मा सत्ता गठबन्धनका उम्मेदवार छन्। तर झन्डै ३० वर्ष देउवाका विश्वासपात्रमध्येका एक कर्ण मल्ल अहिले उनीसँगै प्रतिस्पर्धामा छन्।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीतिमा आफ्नो भविष्य बनाएका देउवाले २०४६ सालको राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासँग मिलेर राष्ट्रिय राजनीतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। पञ्चायती शासन व्यवस्था लम्बिँदा देउवा उतै लाग्ने त होइन भन्ने आशंका बढेपछि कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले अध्ययनका लागि उनलाई बेलायत पठाएका थिए।

२०४६ सालको परिवर्तनपछि नेपाल आएसँगै २०४८ को आम निर्वाचनमा सुदूरपश्चिममा उम्मेदवार छनोटमा देउवा नै हाबी भए। त्यही निर्वाचनका क्रममा देउवा र कर्ण मल्लको भेट भएको हो। २०५२ सालमा पहिलोपल्ट देउवा प्रधानमन्त्री बनेसँगै मल्ललाई आफ्नो सहयोगीका रूपमा काठमाडौं बोलाएका थिए।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समिति डडेल्धुराको उपसभापतिमा पार्टीका वरिष्ठ नेताहरूलाई पन्छाउँदै देउवाले कर्णलाई अघि सारेका थिए। तर एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भएको चुनावी तालमेलमा मल्ल पराजित भए। त्यति मात्र नभएर पार्टीका तर्फबाट सभापतिमा खडा भएका उम्मेदवारलाई मल्लले भोट नदिएको भन्दै उनीमाथि कारबाहीको माग जिल्ला नेताहरूले गरे।

उनलाई कारबाही होइन, देउवाले फेरि काठमाडौं ल्याएर सहयोगी बनाए। २०५८ सालमा देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिवको जिम्मेवारी देउवाले उनैलाई दिए। २०५९ असोज १८ को राजाको कदमपछि मल्ल देउवासँग केही टाढा भएको र चक्रबहादुर शाही र दीपकजंग शाहमार्फत दरबारनिकट पुगेको आरोप कांग्रेसहरूले लगाउने गरेका छन्। नागरिक दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्