Logo

यसरी गरौं घर-घरमा महालक्ष्मीको स्वागत



प्रा. डा. रामचन्द्र गौतम-
जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउने विभिन्न अवसर हुन्छन् । तीमध्ये एउटा हो, लक्ष्मीपूजा । यसको महत्त्व अवर्णनीय छ । गृहस्थाश्रममा बस्नेलाई विद्या, बुद्धि, शक्ति र ऐश्वर्य सबथोक चाहिन्छ । आज अरु थोकभन्दा पनि धन सम्पत्ति र ऐश्वर्यका लागि महालक्ष्मीको उपासना गर्ने दिन हो । धनधान्य र ऐश्वर्यकी अधिष्ठातृ देवी महालक्ष्मीको रातभर गुणगान गाएर जाग्राम बस्ने चलन छ ।
दीपमालिका सजाउने, घर सफा सुग्घर र लिपपोत गर्ने, लक्ष्मीका पाइला बनाउने चलन पनि छ । लक्ष्मी उज्यालोदेखि प्रसन्न हुन्छिन् । अहिले विद्युतीय बत्ती पनि बाल्छन् । तर शास्त्रीय रुपमा घिउ र तिलको तेलमा भिजाएको बत्ती बाल्ने चलन छ ।
लक्ष्मीपूजा गरिसकेपछि भैलो खेल्ने चलन छ । भैलो भनेको भलो होस् भनेको हो । गाउनेको पनि भलो होस्, गाउन लगाउनेको पनि भलो होस् । मध्यरात भएपछि आँगनमा नाङ्लो बजाएर लक्ष्मीलाई घरभित्र स्वागत गर्ने शास्त्रीय मान्यता छ । लक्ष्मीपूजा गरेर गानभजन गरेर रात बिताउने हो ।
लक्ष्मीको पूजा गर्दैमा धनसम्पत्ति भित्रिने चाहिँ होइन । लक्ष्मी प्राप्तिको काम पनि गर्नुपर्‍यो । उद्योग, पौरख र उन्नतिका लागि मिहिनेत पनि उत्तिकै चाहिन्छ । कम नगरी कहाँ फल प्राप्ति हुन्छ र ! मिहिनेतीलाई लक्ष्मीले पनि सहयोग गर्छिन् । आस्था, निष्ठा र भक्ति अनि भावना भयो भने लक्ष्मी प्रसन्न नहुने कुरै छैन ।
मानिसको जीवन यमजीवनसँग सम्बन्धित छ । यमराजको ढोकामा दुइटा द्वारपाल थिए, श्याम र सबल । कुकुरलाई मनुले मानिससँगै पहिले नै सृष्टि गरेका थिए । यमलोकमा कसले राम्रो काम गरेको छ, कसले गरेको छैन, ठीक र बेठीक कुकुरले सुँघेर पत्ता लगाउँथे । त्यसैले कुकुर प्रसन्न राख्ने र मनपर्ने खाने कुरा दिने चलन छ । आज कुकुर पनि हो । तिहारमा सामान्यतः कुुकुरको पूजा गर्नेभन्दा खुसी राख्ने हो ।
आज नरकी चतुर्दर्शी पनि हो । स्वच्छता प्राप्तिका लागि बिहानै तिलको तेल लगाएर नुहाउने चलन छ । भोलि ग्रहण लाग्छ । ग्रहणमा दान, भजन, सराद्धे गर्न हुन्छ । अरु कर्म गर्नुहुन्न । गाईगोरु पूजा पर्सि हुन्छ । म्हपूजा पनि पर्सि नै हो ।
पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. गौतमसँग आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित



प्रतिक्रिया दिनुहोस्

Screenshot