Logo

डोटीको भुकम्प प्रभावित क्षेत्रमा खटिन र उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, २३ कात्तिक । डोटीको भुकम्प प्रभावित क्षेत्रमा उद्दारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । देउवाले प्रभावित क्षेत्रमा खटिन, घाइतेको उद्दार गरी उपचार गर्न र राहतको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले भुकम्पमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा ६ जनाको च्यापिएर मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

भूकम्पमा परेका मृतकमा पूर्वीचौकी ३ गैरागाउँका प्रेम बोहरा, भगवती बोहरा‚ सीता बोहरा‚ हर्क बोहरा‚ धन्सरी बोहरा‚ तुलछी बोहराको सनाखत भएको छ । घाइतेहरुलाई उपचारार्थ अस्पताल लगिएको डोटीका डीएसपी भोला भट्टले बताए ।

धनगढीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै निवर्तमान प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले भूकम्पका कारण ग्रामीण भेगमा माटोले बनेका दर्जनौं पुराना घरहरू भत्किएको बताए । उनले भने, ‘अरु गाउँको धनजनको क्षतिको सबै सूचना आइसकेको छैन । यहाँका धेरै घर चिराचिरा परेका छन् । आआफ्ना घर छाडेर मानिसहरु सडकमा निस्केका छन् । भूकम्पको धक्का थपिए जनता अझै जोखिममा छन् ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot