Logo

जगन्नाथ खतिवडालाई धमलाको प्रश्न- एकीकृत समाजवादीको त कस्तो कन्तबिजोग भयो है 



काठमाडौं, १६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पाँच दलीय गठबन्धनले नै नयाँ सरकार बनाउने बताएका छन् ।
‘सीके राउतको जनमत पार्टी जोडिएपछि गठबन्धनको बहुमत पुग्छ । अब गठबन्धनले नै सरकार बनाउनुपर्छ भन्नेमा हामी प्रस्ट छौं । यसकै निरन्तरताको पक्षमा छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि प्रचण्ड को बन्छन् भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो पार्टीबाट प्रधानमन्त्री बन्दैन । हामीले सरकारमा सहभागिता जनाउने मात्र हो । जहाँसम्म गठबन्धन दलको कुरा हो, ठूलो पार्टीका हिसाबले कांग्रेसको दाबी स्वाभाविक होला । पहिले को बन्ने भन्नेमा सहमति भए राम्रो हुन्छ ।’
प्रधानमन्त्री नपाए पनि अरु पदीय जिम्मेवारी एकीकृत समाजवादीले लिने उनले स्पष्ट पारे । खतिवडाले थपे, ‘सबै निर्वाचन परिणाम आइसकेपछि संसदमा को को व्यक्तित्व आउँछन् भन्ने थाहा हुन्छ । पहिले प्रधानमन्त्रीको कुरा नटुंगीकन अन्य कुरामा छलफल हुँदैन । त्यस आधारमा नै पदीय भागबन्डा हुन्छ । किनभने मुलुक सहमतिमा सरकार बनाउने अवस्थामा छ ।’
तपाईंको पार्टीको त कस्तो कन्तबिजोग भयो है भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले भने, ‘गठबन्धनमा हामी सानो पार्टीका रुपमा रहने हाम्रो पहिले नै आकलन थियो । प्रतिनिधिसभामा हामी जम्मा १८, १९ सिटमा लडेका थियौं । प्रदेशमा पनि त्यस्तै भयो । समानुपातिक मत प्रभावित पार्ने उचित रणनीति बनाउन नसक्दा क्षति बेहार्नुपर्यो । राष्ट्रिय पार्टी बन्नलाई थोरै भोटले नपुगेको हो । नपुग्ला पनि । कतिपय व्यवस्थापकीय कमजोरीका कारण हामी यो ठाउँमा आयौं । अब यसको बृहत् समीक्षा हुन्छ ।’
राष्ट्रिय पार्टी नबने पनि आफ्नो पार्टीका सांसदहरु स्वअनुशासनमा चल्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्