Logo

नेपालगञ्जमा दादुराको महामारी



बाँके, पुस २२। नेपालगञ्जमा सात वर्षपछि दादुरा महामारी फैलिएको छ । सात वर्षअघि दादुरा फैलिएको वडाबाट नै यसपालि पनि दादुराले महामारीको रूप लिएको छ ।

आर्थिक वर्ष ०७२/७३ मा नेपालगञ्ज उपमहानगरपालिका–५ मा दादुरा फैलिएर दुई जनाको मृत्यु भएको थियो । त्यही वडामा यसपालि पनि एक बालकको मृत्यु भएको छ । बुधबार दुई वर्ष सात महिनाका बालकको मृत्यु भएको हो । उनी एक हप्तादेखि संक्रमित थिए ।

नेपालगञ्जमा पुस १३ गते दादुरा संक्रमित देखा परेका थिए । एकै घरका पाँच जना संक्रमित देखिएपछि उनीहरूको स्याम्पल जाँच्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । १९ गते साँझ दादुरा पुष्टि भएको रिपोर्ट आयो । पाँच जनामध्ये चार जनालाई दादुरा पुष्टि भएको थियो ।

त्यसपछि उक्त घर आसपासमा खोजतलास गर्दा दादुराका धेरै बिरामी फेला परेका हुन् । उक्त वडासँगै नगरका नौ वटा वडामा दादुराका बिरामी देखा परेका छन् । दादुरा दिनप्रति दिन फैलिँदै गएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताए ।

नेपालगञ्जको ५, ७, ८, ९, १०, ११, १४, १५, २२ नम्बर वडामा दादुराका संक्रमित देखा परेका छन् । बिहीबारसम्ममा २९ जनामा दादुरा देखिएको छ । नेपालमा वर्षौंदेखि दादुराको खोप लगाउने गरिएको छ । अहिले दादुरा देखिएका बालबालिकाले उक्त खोप नलगाएको पाइएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्