Logo

प्रचण्डलाई १७९ सांसदको विश्वासको मत प्राप्त हुन्छः स्वतन्त्र पार्टी प्रवक्ता



काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीका धेरै एजेन्डा समेटिएको दाबी गरेका छन् ।
‘सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रा पार्टीका धेरै एजेन्डा समावेश भएका छन् । भ्रष्टाचार छानबिनदेखि सरकारी सेवा प्रवाह र सुशासनका कुरा छन् । पुराना कानुनलाई समयानुकूल परिमार्जन गर्ने, स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, छाता विश्वविद्यालय ऐन ल्याउने, विदेशमा बस्ने नेपालीको मताधिकार सुरक्षित गर्ने, विद्युतीय मतदानको व्यवस्था मिलाउने, टाइम कार्ड लागू गर्ने, ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने, ईगभर्नेन्स लगायतका एजेन्डा हाम्रै पार्टीका त हुन् नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले भने ।
भ्रष्टाचार काण्डलाई किटेर भन्न त सक्नुभएन नि भन्ने धमलाको प्रश्नमा ढकालले भने, ‘यो सरकारका कामकाजको भाषा हो । तोकेर लेख्न मिलेन । त्यसैले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्न सक्ने भनेका छौं । यति लेखाउन सक्नु पनि अहिलेको उपलब्धि नै हो । हाम्रो एकल बहुमत भएको भए हाम्रै भाषा हुबहु आउँथ्यो । जनताले २० सिट दिनुभयो । अब आफ्नो हैसियत अनुसार काम गर्छौं ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पुस २६ गते १७९ मतसहित विश्वासको मत लिने दाबी पनि ढकालले गरे । प्रवक्ता ढकालले भने, ‘प्रचण्ड १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । त्यो संख्या यथावत् हुने देखिन्छ । त्यसमा बढेर १७९ पनि पुग्न सक्छ ।’
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा राजनीति भइरहेको पनि उनले औंल्याए । ढकालले भने, ‘हो, राजनीतिमा इमानदारिता र नैतिकता चाहिन्छ । उहाँको नागरिकता छानबिन चारपाँच वर्षदेखि जारी छ । यसबारे माघ ११ गते निर्णय गरिहाल्छ नि अदालतले । नागरिकता विवाद २० वर्ष लम्बियो भने रवि लामिछाने प्रधानमन्त्री नै नहुने त ? उपप्रधानमन्त्री भएर निर्णय प्रक्रियामा हस्तक्षेप हुन्छ भन्ने हो भने प्रधानमन्त्री भए त झन् प्रभावित हुन्छ होला नि । हाम्रो पार्टीको १३८ सिट आएको भए रवि लामिछाने प्रधानमन्त्री हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot