Logo

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नदिने



एजेन्सी। एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन्।

पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक प्रहरीसहित ४२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ।

राष्ट्रव्यापी रूपमा भइरहेका विरोध प्रदर्शनका क्रममा भएका दोहोरो झडपमा ५३१ जना घाइते भएका तथा ३२९ जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

गएको मंसिर २१ गते वामपन्थी राष्ट्रपति कास्टिलोका महाअभियोगसँगै गिरफ्तारीमा परेपछि उपराष्ट्रपति डिना बोलुअर्टेले राष्ट्रपतिका रूपमा शपथ लिएकी थिइन्। सोही दिनदेखि देशभर हिंसात्मक प्रदर्शन प्रारम्भ भएको हो।

पूर्वराष्ट्रपति कास्टिलोका समर्थकहरूले बोलुअर्टेलाई राजीनामा तथा आफ्ना नेताको रिहाइसँगै आम निर्वाचनको घोषणा हुनुपर्ने माग गरेका छन्। आफू राष्ट्रपति बनेको एक सातापछि देशमा भड्किएको हिंसा रोक्ने प्रयासस्वरूप उनले एक महिनासम्म देशमा आपत्काल लागु गरिएको घोषणा गरेकी थिइन्। तर, आन्दोलन मत्थर भएन।

आन्दोलनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र अयाकुचोमा राजनीतिक प्रभाव भएको अयाकुचो पिपल्स डिफेन्स फ्रन्टका अध्यक्ष रोसियो लिआन्ड्रो मेलगरलाई पक्राउ गरिएपछि हिंसात्मक गतिविधि बढेका छन्।

हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने त्यसको अनुसन्धान पनि भइरहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। उक्त कार्यालयले मानव हताहतीका जिम्मेवारी निर्धारण गर्न आठ शिराबाट अनुसन्धान सुरु गरेको जनाएको छ।

यसैबीच, राष्ट्रपति बोलुअर्टेले पदबाट राजीनामा नगर्ने बताएकी छन्। राज्यसञ्चालित टेलिभिजन प्रसारणमा शुक्रबार उनले देशका निम्ति आफ्नो दायित्व भएकाले राजीनामा नगर्ने दृढता व्यक्त गरिन्। देशमा बढिरहेका हिंसात्मक गतिविधिप्रति उनले चिन्ता व्यक्त गरेकी छन्।

देशको पछिल्लो स्थिति तथा आन्दोलनकारीले एक प्रहरी अधिकारीलाई जिउँदै जलाएर मारेको घटनाप्रति राष्ट्रपतिले पेरुका जनतासँग क्षमायाचना गरेकी छन्। रासस/सिन्ह्वा/एएफपी



प्रतिक्रिया दिनुहोस्

Screenshot