Logo

सभामुख पदको गरिमा र शाखको अभिवृद्धि गर्नु संवैधानिक दायित्व : सभामुख घिमिरे



काठमाडौं, ७ माघ। सभामुख पदको गरिमा र शाखको अभिवृद्धि गर्नु आफ्नो संवैधानिक दायित्व भएको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताए। घिमिरेले सभामुखमा निर्वाचित भएपछिको पहिलो बैठकमा आफ्नो धारणा राख्दै सभामुखको पद तटस्थ, निश्पक्ष र समन्वयकारी हुने भएको हुँदा यो पदको गरिमा राख्नु आफ्नो संवैधानिक दायित्व भएको बताए।

उनले प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै भने, ‘सभामुखको पद तटस्थ, निश्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु।’

यस्तै उनले भने, ‘नेपालको संविधानले अंगिकार गरेका मुलभूत मान्यताहरुको संरक्षण, सम्बद्र्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिबद्ध रहेर नै हामीले अंगिकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्य प्रति हामी सबै प्रतिबद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन। नेपालको संविधानले अंगिकार गरेको जनतामा निहित सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधि सभा गठन भएको छ। जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो।’

‘बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ। त्यसैले संसदमा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरुबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्दछु।’ उनले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot