Logo

डायलासिसका लागि पालो कुर्दाकुर्दै ज्यान गुमाउन्छन मिर्गौला पीडित



काठमाडौं, फागुन ११ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस गर्न सक्छ । पालो नपाउनेहरू घर फर्किनुबाहेक उपाय रहँदैन ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले ४५ वटा डायलासिस मेसिनबाट तीन सेसन गरेर डायलासिस भइरहेको जानकारी दिँदै भने, “सबैलाई डायलासिस सेवा उपलब्ध गराउनु परेमा ५० वटा मेसिन थप्नुपर्ने हुन्छ । त्यति थप्दा जनशक्ति पनि थप्नुपर्छ ।”

डायलासिसका लागि पालो कुर्नेहरू धर्मभक्त प्रत्यारोपण केन्द्रमा मात्र नभई देशभरका स्वास्थ्य संस्थामा अवस्था यस्तै छ । मुलुकभरमा सूचीकृत ५० वटा सरकारी र २९ वटा निजी, सामुदायिक तथा शिक्षण अस्पतालमा डायलासिस हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गेलालले सरकारी अस्पतालमा २८० र निजी अस्पतालमा ४३३ गरी ७१३ वटा डायलासिस मेसिन सञ्चालनमा रहेको जानकारी दिए ।

वीर अस्पतालका प्रवक्ता सागर मिश्रले सो अस्पतालमा २० वटा डायलासिस मेसिन सञ्चालनमा रहेको जानकारी दिए । सो अस्पतालमा तीबाहेक आकस्मिक वार्डमा एक र आईसीयूमा एक मेसिन सञ्चालनमा छ । अस्पतालले दैनिक १२५ जनालाई सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्र रहेको स्थान अत्यन्त सानो भएकोले थप सेवा विस्तार गर्न कठिन रहेको डा श्रेष्ठको भनाइ छ । उनले अन्य स्थानमा केन्द्रलाई विस्तार नगर्ने हो भने थप बिरामीलाई सेवा दिन सहज नहुने जानकारी दिए ।

पछिल्लो समयमा मिर्गौलाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । खानपिनलगायतका कारण यस्ता बिरामीको सङ्ख्या निराशाजनक रूपमा बढ्दै गएको भनाइ चिकित्सकको छ । सामाजिक स्वास्थ्य सुरक्षा शाखा प्रमुख डा गेलालले जटिल आठ रोगमध्ये मिर्गौलासम्बन्धी समस्या भएका बिरामी बढी रहने गरेको जानकारी दिए । जटिल रोगको उपचार गर्न सूचीकृत ११२ स्वास्थ्य संस्थामध्ये ७९ वटा स्वास्थ्य संस्थाले मात्र मिर्गौलाको डायलासिसका लागि सूचीकृत छन् । उनका अनुसार सूचीकृत हुनका लागि निवेदन दिने संस्थाको सङ्ख्या पनि निकै बढेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्