Logo

माधव नेपालले मलाई राष्ट्रपति बनाउन चाहनुभएनः झलनाथ खनाल



काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालका कारण आफ्नो राष्ट्रपति हुने सम्भावना तुहिएको बताएका छन् ।
‘अहिले पनि संसदमा वामपन्थीको १३६ सिट छ । यतिबेला राष्ट्रपतिमा सबभन्दा राम्रो सम्भावना एकीकृत समाजवादीको थियो । तर वामपन्थी नेताहरुको अदूरदर्शिता, अकर्मण्यता, पदलोलुपता र स्वार्थपरकताका कारण त्यो सम्भव भएन । उनीहरु कुनै पनि वामपन्थी नेतालाई राष्ट्रपति बनाउन चाहँदैनथे । केही दिनपछि त्यो पुष्टि हुन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खनालले भने ।
उनले माधव नेपाल पार्टीलाई थाहा नदिईकन राष्ट्रपतिमा रामचन्द्र पौडेलको प्रस्तावक बसेको आरोप पनि लगाए । खनालले थपे, ‘म पदप्राप्तिका लागि लबिङ गर्ने मान्छे होइन । मलाई बनाऊ भन्दै हिँड्ने कुरा आएन । पार्टीले मेरो आवश्यकता महसुस गरेको भए एउटा कुरा हुन्थ्यो । पार्टीले नै नचाहेपछि अरुसँग कुरा गर्नुको औचित्य थिएन । हाम्रो पार्टी अध्यक्ष नै रामचन्द्र पौडेलको प्रस्तावक बसिसक्नुभएको रहेछ । पार्टीलाई थाहापत्तो भएन । हाम्रो पार्टीले प्रस्ताव गरेको भए म राष्ट्रपति हुने ८० प्रतिशत सम्भावना थियो ।’
देश निर्माणको भिजन नभएपछि नेताहरु पद पाउने, गुट उपगुट खोल्ने र गठबन्धन बनाउने लुछाचुँडीमा लाग्ने पनि उनले औंल्याए । खनालले भने, ‘राष्ट्रपति हुन्छु भन्दै नेताहरू मुखमा र्‍याल  काढेर ओर्लिए । यो बडा अनौठो छ । त्यसको अलिअलि लक्षण देखिसकेपछि म बंगलादेशतिर लागेको थिएँ । माधव नेपालले चाहेको भए कि उहाँ आफैं बन्नुहुन्थ्यो कि मलाई बनाउन लाग्नुहुन्थ्यो । उहाँ मलाई राष्ट्रपति बनाउन चाहनुहुन्थेन भन्ने घटनाक्रमले सिद्ध गरेर लगेको छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम अघि नसारेको पनि खनालको दाबी छ । उनले भने, ‘माधव नेपाल र खड्ग ओलीबीच चार घन्टा के के कुरा भयो, माधव नेपालले रिपोर्ट गर्नुभएको छैन । ओलीले पार्टी मिलाऊँ भन्नुभयो तर राष्ट्रपतिको प्रस्ताव आउँदै आएन भन्नुभयो माधव नेपालले । प्रस्ताव आएको थियो भने हाम्रो पार्टीसम्म किन आएन ? कि माधव नेपालबाट आउनुपर्थ्यो कि पार्टीमै आउनुपर्थ्यो । त्यस्तो प्रस्ताव आएको जस्तो लागेन । प्रोपगान्डा मात्र हुन पनि सक्छ । यसबारे केपी ओलीलाई सोध्न बाँकी छ ।’

 



प्रतिक्रिया दिनुहोस्