Logo

यथास्थितिमा सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन सक्दैनौंः खगराज भट्ट



काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् ।
‘हिजो हाम्रो संसदीय दलको बैठकले यथास्थितिमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने सर्वसम्मत निर्णय गरेको छ । त्यो निर्णय यथावत् छ । अब हामी पार्टीको केन्द्रीय नेतृत्वलाई त्यसमा कन्भिन्स गर्छौं र हाई कमान्डको निर्देशन र सुझाव समेत लिएर अघि बढ्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै भट्टले भने ।
नेता भट्टले निर्वाचन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रतिबद्धता अनुसार आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी पनि गरे । उनले भने, ‘म मुख्यमन्त्री बन्ने उद्देश्यका साथ प्रदेशमा निर्वाचन लडेको हुँ । मुख्यमन्त्री नबनाउने कुरा भएको भए म लड्थें कि लड्थिनँ । यो मैले बोलेको कुरा होइन । त्यस समझदारीबाट दायाँबायाँ गर्नुहुँदैन र यो जनतासँग जोडिएको प्रतिबद्धता हो । मेरो व्यवस्थापनको जिम्मेवारी नेताहरुकै हो ।’
पुरानो समझदारीमा नेपाली कांग्रेसको इमानदारी र विश्वसनीयता आवश्यक रहेका पनि उनले औंल्याए । भट्टले थपे, ‘यो मुख्यमन्त्री कमलबहादुर शाहको मात्र कुरा होइन । उहाँ एउटा विशेष परिस्थितिमा दलको नेता र मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्रीसँग मेरो व्यक्तिगत सम्बन्ध सौहार्द नै छ । तर यो राजनीतिक र दुई दलीय सहअस्तित्वको प्रश्न हो । केन्द्रमा गठबन्धन गरेपछि प्रदेशमा नहुने कुरा छैन । तर त्यो प्राविधिकभन्दा आत्मीक सहकार्य हुनुपर्छ । विन विनको समझदारी बन्नुपर्छ ।’
आफू मुख्यमन्त्री नभए नेतृत्वको विशवसनीयता समाप्त हुने चेतावनी पनि भट्टले दिए । उनले भने, ‘म मुख्यमन्त्री भए मात्र समझदारी हुने, नभए नहुने भन्ने त होइन । तर नेतृत्वको विश्वसनीयता नै समाप्त हुने स्थिति आउन दिनुहुन्न । अब सबै कुरा प्रदेश तहमा भन्दा पनि शीर्ष तहका नेताहरुले समाधान गनुपर्छ । यो निर्णय अब हाई कमान्डको हातमा छ । हामी छलछाम र षडयन्त्रमा विश्वास गर्दैनौं ।’
सत्ता साझेदारीमा सहमति हुने आधार र सम्भावना जिवित रहेको पनि उनले औंल्याए । भट्टले थपे, ‘पार्टी नेतृत्वको निर्देशन बाध्यतात्मक नभए पनि संसदीय अभ्यासमा पालना गर्ने कुरा हुन्छ । तर कांग्रेससँग हाम्रो गहिरो संवाद हुन सकेको छैन । विश्वासको वातावरण पैदा गर्दै जाने हो भने व्यवस्थित र व्यावहारिक सहमति कायम गर्दै लानुपर्छ । विश्वासको मत लिएपछि भन्दा पनि सबै कुरा अहिले नै टुंग्याउँदा श्रेयस्कर हुन्छ भनेर हामीले हाम्रा कुरा प्रस्टसँग राखेका छौं ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot