Logo

प्रचण्ड आफ्नो छायासँग आफैं तर्सिरहनुभएको छः प्रदीप ज्ञवाली



काठमाडौं, २३ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संक्रमणकालीन न्याय ढिलो गराउन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) जिम्मेवार भएको आरोप लगाएका छन् ।
‘हामीले विगत १५-१६ वर्षदेखि संक्रमणकालीन न्यायका निम्ति आवाज उठाउँदै आएका छौं । हामी द्वन्द्वको पक्ष होइनौं । यसमा कांग्रेस र माओवादीले किन ढिलाइ गरिरहेका छन् ? मैले बुझ्न सकेको छैन । सर्वोच्च अदालतले संक्रमण न्याय ढिलो भयो भन्दैमा पीडितलाई न्यायबाट वञ्चित गर्न मिल्दैन भन्ने महत्त्वपूर्ण सिद्धान्त स्थापित गरेको छ । अब नियमित न्यायिक प्रक्रियाबाट भए पनि द्वन्द्वपीडितलाई न्याय दिलाउने ढोका खोलेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ज्ञवालीले भने ।
केपी शर्मा ओलीको सरकार विस्थापित गरेपछि शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंग्याउन नचाहेको आरोप पनि उनले लगाए । ज्ञवालीले भने, ‘एमालेका कारण संक्रमणकालीन ढिला भएको भन्नु वाहियात र ननसेन्स कुरा हो । केपी शर्मा ओलीको सरकार विस्थापित गरेपछि शेरबहादुर देउवाले त्यसलाई टुंग्याउन चाहनुभएन । प्रतिनिधिसभामा जुन बेला विधेयक आयो, रातदिन काम गरेर पनि टुंग्याउन सकिने स्थिति थिएन । विधेयकको रुप लिने स्थिति पनि बनेन ।’
उनले सर्वोच्च अदालतमा रिट दर्ता गर्न खोज्ने नेकपा एमालेका कार्यकर्ता नभएर नेपाली कांग्रेसकै नेताहरु भएको पनि बताए । ज्ञवालीले भने, ‘प्रचण्डविरुद्ध मुद्दा हाल्ने नेपाली कांग्रेसका महासमिति सदस्यका साथीहरु हुन् । उहाँहरुको निहत्था परिवार वा आफन्त मारिएको पीडा होला । अब एमालेलाई दोष लगाउने माओवादीको जय होस् न त । कांग्रेसले ३२ सिटको पार्टीलाई १३२ सिटको बनाइदियोस् न त ।’
प्रधानमन्त्री प्रचण्डविरुद्ध कोही पनि एक नभएको ज्ञवालीले दाबी गरे । उनले भने, ‘प्रचण्ड सकेसम्म संक्रमणकालीन न्यायलाई अल्झाइरहन चाहनुहुन्छ र मलाई घेराबन्दीमा पार्न खोजिँदै छ भनेर इमोसनल ब्याकमेलिङमा लागिरहनुभएको छ । उहाँ आफ्नो छायासँग आफैं तर्सनुभएको मात्र हो । उहाँलाई कसले एक्ल्याएको छ र ? उहाँ आफैं एक्लिने बाटोमा हिँड्नुभएको हो । उहाँलाई संक्रमणकालीन विधेयक पास गर्न कसले रोकेको छ र ? यसका लागि दुई तिहाइ चाहिँदैन नि ।’
एमाले उपमहासचिव ज्ञवालीले जघन्य अपराधका घटनालाई उन्मुक्ति दिन खोजिए पीडित, कानुन र अन्तर्राष्ट्रिय क्षेत्रले नमान्ने जिकिर पनि गरे । उनले थपे, ‘हिजो बाबुराम भट्टराईले द्वन्द्वकालीन घटनामा आम माफी दिने कानुन ल्याउन खोज्नुभयो, त्यो प्रावधान पीडितले मान्नुभएन । त्यसैले हिजो उहाँहरुले गरेका गम्भीर अपराधका कारण अब कानुनी कठघरामा पुग्ने अवस्था छ ।’
छिमेकी संवेदनशीलतामा नेपाल गम्भीर हुन नसकेको भन्दै उनले सरकारको आलोचना पनि गरे । ज्ञवालीले भने, ‘प्रचण्डले आफैंले आफैंलाई ऐनामा हेरे हुन्छ । बाह्य शक्तिको चलखेल नांगै छ त । कोही बोलाएर आउनुभएको छ, कोही नबोलाईकन आउनुभएको छ । तिब्बत मामिलामा हामी संवेदनशील हुनु पर्दैन ? हामी होसियार बनौं भन्दा किन कसै कसैलाई ज्वरो आएको हो ? कसैलाई टाउको दुख्छ भनेर सत्य कुरा बोल्न छोड्नुपर्छ र ?’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot