Logo

संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा अदालत लगेर माओवादीमाथि आक्रमण सुरु भयो– कर्णजित बुढाथोकी



काठमाडौं, २९ फागुन । नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीले संक्रमणकालीन न्यायको निकास सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान खोजिनुपर्ने बताए । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संक्रमणकालीन न्यायको निरुपणका लागि नियमित अदालतमा लगिनुलाई माओवादीमाथिको आक्रमण सुरु भएको बताएका हुन् ।

‘पहिलो कुरा त माओवादी मूल्य मान्यता र अस्तित्वलाई रक्षा गर्नु पर्यो । जुन मूल्य मान्यता र अस्तित्वका लागि हामीले संघर्ष गरेका थियौं, त्यो अस्तित्वको रक्षाबिना हामी अगाडि बढ्न सक्ने अवस्थामा पुगेनौं । माओवादी माथिको आक्रमण बढ्यो । यसकारण हामी सबै माओवादी एक ठाउँमा आउनु पर्छ,’– उनले भने ।

माओवादीमाथि यथास्थितिवादी शक्ति, प्रतिक्रियावादी शक्ति र देशी विदेशी शक्तिलागेर आक्रमण भइरहेको उनको आरोप छ । शान्ति प्रक्रियाको विषयलाई लिएर प्रचण्डमाथि आक्रमण भएकाले माओवादी शक्ति एक हुने अवस्था आएको उनले बताए । शान्ति प्रक्रिया निष्कर्षमा नपुर्याएर अदालतमा मुद्दा पुर्याउनु भएको देशलाई अस्थिरतातर्फ धकेल्ने काम भएको उनले बताए । संक्रमणकालीन न्याय नियमित अदालतको क्षेत्राधिकार नभएको उनले बताए ।

‘सबै माओवादीको साझा विषय भएको द्वन्द्वकालीन घटनासँग जोडिएको विषय भयो । सात दल एकातिर, माओवादी एकातिर । हस्ताक्षरकर्ता त दुई पक्ष हुन् नि ? प्रचण्डमाथि मुद्दा चलेपछि माओवादीहरु आँत्तिएको, डराएको नसोच्नु होला । त्यो कुरा विलकूल होइन । हामीले भन्न खोजेको कुरा के हो भने चाहे जुनसुकै पार्टी र व्यक्तिमाथि भएका राजनीतिक प्रक्रितिका मुद्दाहरु समाधानतर्फ गईरहेको बेलामा पुनः गिजोलेर देशलाई द्वन्द्वतर्फ धकेलेर राजनीतिक अस्थिरता मच्चाउन खोजिएको छ । त्यसप्रतिको हाम्रो चेतावनी हो,’– उनले भने ।

संक्रमणकालीन न्याय माओवादीको मात्रै सवाल नभएर सिंगो देशको सवाल भएको उनले बताए । ‘यो सवल माओवादीको मात्रै होइन । सिंगो देशको सवाल हो । पीडितहरुलाई न्याय दिनुपर्छ । चाहे राज्य पक्षबाट होस्, चाहे माओवादी पक्षबाट होस् । जोसुकैबाट भएको भएपनि पीडितलाई न्याय दिनुपर्छ । तर, नियमित अदालत यसको क्षेत्राधिकारभित्र पर्दैन । सत्य निरुपण तथा मेलमिलाप आयोगबाट यसको समाधान खोजिनु पर्छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot