Logo

माओवादी धारका दुई पार्टीबीच एकता, विप्लवले भने– ‘हाम्रो एकता दलाल पुँजीवादसँग लड्न हो’



काठमाडौं, १ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ । आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी दुई कम्युनिष्ट पार्टीबीच एकता भएको घोषणा भएको हो । पार्टी एकता कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेकपाका महासचिव विप्लवले अहिले दुई पार्टीबीच भएको एकता लामो छलफल र संवाद पछिमात्रै सम्भव भएको बताए । अहिलेको राजनीतिक वस्तुस्थितिले पनि ढिलोचाँडो कम्युनिष्टहरु एक हुनुपर्ने सन्देश प्रवाह गरेको उनले बताए ।

‘यो एकता संगठनात्मकरुपले दुई पार्टीको जस्तो देखिएपनि वास्तवमा यो एकताको पछाडि लामा छलफलहरु भएका छन् । सल्लाह सुझावहरु र राजनीतिक वस्तुस्थिति छन्,’– उनले भने ।

आफूले विभिन्न बस्तीमा जाँदा नेपालमा एउटा शक्तिशाली कम्युनिष्ट पार्टी बन्नुपर्ने र त्यसको पक्षमा कदम अगाडि बढाउन सल्लाह आएकाले एकताको निर्णय लिएको उनले बताए । कम्युनिष्टहरु अब समाजवादी आन्दोलनलाई दिशा निर्देश गर्ने गरी एक ठाउँमा उभिने बेला आएको उनको दाबी छ । ‘कम्युनिष्ट पार्टीभित्र पनि वहसहरु छन् । हामी कम्युनिष्टहरु हौं भने एकचोटी फेरि नेपालको राजनीतिमा समाजवादी आन्दोलनलाई दिशा निर्देश गर्ने गरी, नेपालको दलाल पुँजीवादी सत्तालाई समाजवादी सत्तामा रुपान्तरण गर्नेगरी एउटा जिम्मेवारी बोध गर्नुपर्छ । वहस गर्नुपर्छ । त्यसको क्षेत्रमा पहल गर्नुपर्छ भन्ने वहस सबै कम्युनिष्ट पार्टीमा छ अहिले,’– उनले भने ।

कम्यनिष्ट एकताका लागि युवा पुस्तामा हुटहुटी रहेको उनले बताए । दुई पार्टीबीचको एकतालाई उनले श्रमिकहरुको एकताको संज्ञा दिए । नेपालको कम्युनिष्ट आन्दोलन विघटनको उत्कर्षमा पुरेर फेरि एक हुने बेला आएको उनले बताए । कम्युनिष्टहरुको एकता गरेर दलाल पुँजीवादका विरुद्ध लड्ने मोर्चाको तयारी भइरहेको उनको भनाई छ । नेपाललाई दलाल पँुजीवादीहरुको हातबाट मुक्त गरेर नेपाली र आगामी पुस्ताहरुको सुनौलो भविष्य निर्माण गर्ने आफ्नो चाहना रहेको उनले बताए ।

‘हाम्रो मनमा एउटा उत्कट चाहना छ, नेपाललाई पुँजीवादीहरुको हातबाट मुक्त गर्ने, दलाल पुँजीवादीहरुको हातबाट मुक्त गर्ने, नयाँ भविष्य स्थापना गर्ने वैज्ञानिक समाजवाद स्थापना गर्ने र नेपालका नागरिक र आउँदो पुस्तालाई यो देशको एउटा स्वाभिमानी नागरिकमा बदल्ने हाम्रो चाहना छ । त्यो चाहनाका लागि हामी कति लचक हुनुपर्छ ? हामी कति फराकिलो हुनुपर्छ र कति माथि उठ्नुपर्छ ? हामी तयार छौं । यो एकता दलाल पुँजीवादसँग लड्नका लागि गरिएको एकता हो ।  File Photo

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot