Logo

पशुपति क्षेत्रमा वृक्षरोपण



काठमाडौँ, १० वैशाख । पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका छन् ।

कोषको वार्षिकोत्सवमा राष्ट्र कल्याणको सङ्कल्पले तीनवटै मन्दिरमा पूजा, आराधना गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कार्यक्रममा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारीको उपस्थिति थियो ।

कोषले पशुपति क्षेत्रका खाली जग्गामा धार्मिक प्रजातिका बिरुवा रोपी हुर्काउने नीति लिएको छ । एक कर्मचारी, एक बिरुवा हुर्काउने अभियान कोषको ३७औँ वार्षिकोत्सवका अवसरदेखि सुरु गरिएको उनले बताए । विसं २०४३ वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले कोषको स्थापना भएको थियो ।

कोषले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न प्रत्येक हप्ताको शनिबार विशेष सफाइ अभियान सञ्चालन गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot