Logo

जहाज र विमानस्थलको टावरबीच हुने सञ्चारमा पटक–पटक समस्या



काठमाडौं, वैशाख ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको टावर र जहाजको कटपिटबीचको सञ्चारमा समस्या दोहरिएपछि आइतबार पुनः उडान प्रभावित भएको छ । यसअघि गत मङ्गलबार पनि सञ्चारमा समस्या देखिँदा एक घण्टा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको थियो ।

टावरमा रहेको रेडियो प्रणालीमार्फत एप्रोच कन्ट्रोल र एरिया पावर सप्लाई डाउन हुँदा आइतबार दिउँसो १२ बजेदेखि एक घण्टा एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीचको संवादमा समस्या आएको हो । विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले टावर र पाइलटबीचको सञ्चारमा सानो आवाज आउने समस्या देखिँदा उडानमा समस्या भएको बताए ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले प्राविधिक चेकजाँचका क्रममा टावरमा रहेका उपकरण र जहाजमा रहेको उपकरणमा कुनै समस्या नदेखिएकाले समस्याको यकिन पहिचानमा प्राविधिकहरूले काम गरिरहेको बताए ।

उनले भने, “टावर र पाइलटबीच हुने संवादमा आवाज सानो आउने र कतिबेला सुनिने समस्या भएको हो । सञ्चामाध्यममा आएको समस्याले अवतरणमा समस्या नभए पनि सातजति उडान प्रभावित भए ।” सञ्चारमा समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रियतर्फका जहाज अवतरणमा भने कुनै समस्या नभएको उहाँले बताए ।

आन्तरिकतर्फका प्रमुख रुद्रमणि पौडेलले सञ्चारमा आएको प्राविधिक समस्याका कारण दिउँसोका उडान एक घण्टा डिले भएको बताए । विमानस्थल स्रोतका अनुसार विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन हुँदा आकाशमा उडिरहेका जहाजलाई निर्देशन दिनसमेत समस्या देखिएको थियो । विमानस्थलमा केही महिना पहिले पनि भिडियो हाई फ्रिक्वेन्सी ९भीएचएफ०मा समस्या आउँदा उडान तथा अवतरणमा समस्या आएको थियो ।



प्रतिक्रिया दिनुहोस्