Logo

सरकारमा सहभागी हुन्छन् त रवि ?



काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूहरु सरकारमा जाने नजाने भन्ने बारे निर्णय गर्न धेरै समीक्षा हुन बाँकी रहेको बताएका छन् । संसद् भवनमा पद तथा गोपनीयताको शफथ लिएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले भ्रष्टाचारको छानविनको विषयनै सरकारको न्यूनतम् साझा कार्यक्रमबाट हटेको, निर्वाचनको समयका गतिविधिको समीक्षा हुन बाँकी रहेको लगायतका विषयले अहिले सरकारमा सहभागी हुनेबारे टुंगो लागि नसकेको बताएका हुन् ।

‘भ्रष्टाचारको छानविन हुनपर्छ भनेका थियौं । त्यो नै न्यूनतम् साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर भन्दा पनि गम्भीर आपत्ति छ । मतदाताले हामीलाई केही थान मान्छेलाई संसद्मा पठाएको होइन, निश्चित एजेण्डासहित म्यान्डेट दिएर पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । यसमा गम्भीर समीक्षा गरेरमात्रै अगाडि बढ्छौं,’– लामिछानेले भने ।

साथै, आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाईँ दिन फोन गरेको उनले स्पष्ट पारे । त्यसमा सरकारका बारेमा कुनै छलफल नभएको उनको दाबी छ ।
‘मलाई बधाई दिन फोन गर्नु भएको थियो । के हो यस्तो सुनेको थिएँ भन्ने चासोसम्म राख्नु भयो उहाँले । त्यसमा सरकारमा जाने बारेमा थप कुनै छलफल भएको छैन । उहाँले मलाई बधाई दिनका लागि फोन गर्नु भएको हो,’– उनले भने ।

चुनावका बेलामा हेलिकोप्टर नै लिएर गएर चितवन–२ र तनहुँ–१ मा पुगेर मन्त्री बाँड्ने काम भएको उनको दाबी छ । मन्त्री पद नै बाँड्ने लगायतका क्रियाकलापको धेरै समीक्षा गरेरमात्रै सरकारमा सहभागी हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot