Logo

सुजल र आरुषीले जिते स्वर्ण



काठमाडौँ, १५ वैशाख । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आज स्वर्णपदक जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण हात पारेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुजलले निर्धारित दूरी ११।४ सेकेन्डमा पूरा गरे । मधेस प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशील ओलीले कास्य जिते । आरुषीले निर्धारित दूरी तय गर्न १३।७ सेकेन्ड समय लगाइन् । बागमतीका दिना गोपालीले रजत जितिन् भने स्वागता खाइजुले कास्य हात पारे ।

छात्र एक हजार पाँच सय मिटर दौड ४ मिनेट २२.८ सेकेन्डमा सकाउँदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पारे । गण्डकीका बादल कार्की दोस्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेस्रो भए । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले ५ मिनेट १५.४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो बनिन् । लुम्बिनीकी मोतिकला डाँगी दोस्रो तथा कोशी प्रदेशकी निला जिमी तेस्रो भए ।

छात्र हाई जम्पमा बागमतीका नवीन खत्री पहिलो भए । उनले १.६८ मिटर उचाइ नाघे । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा १.४५ मिटर उचाइ नाघेकी गण्डकीकी सीमा श्रेष्ठले स्वर्ण चुमिन् । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कास्य प्राप्त गरे । तीनदिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेशका एक सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot