Logo

कांग्रेस सभापति देउवाका छोरा जयवीरको विवाह माघमा, को हुन देउवाकी बुहारी ?



काठमाण्डौं, जेठ ५ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन्।

जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन्। शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए। केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए। इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन्।

शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीर र शिवाना दुवै जनाको छुट्टाछुट्टै व्यवसाय छ। शिवाना सौन्दर्य सामग्री (ब्युटी प्रडक्ट) को व्यापारमा छिन्। शिवाना कभर गायक पनि हुन्। उनीहरूको चिनजान विद्यालयमै हुँदा भएको हुनसक्ने बताइएको छ। यद्यपि यसबारे आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन।

देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी छ। जयवीर र शिवानाको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा र उनकी दिदीले इन्स्टाग्राम स्टोरीमार्फत दिएका हुन्। उनीहरूले केही तस्बिर पनि राखेका थिए।



प्रतिक्रिया दिनुहोस्