Logo

खुला राजनीतिमा रेशम चौधरी, आठ वर्षपछि जेलमुक्त



काठमाडौं, जेठ १६। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका हुन् । उनी सोमबार जेलजीवनबाट मुक्त भएका हुन् ।

जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीनै तहका अदालतबाट चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो । चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैदका लागि माफी दिएको हो ।

रिहाइ लगत्तै उनी गृह जिल्ला कैलाली पुगेका छन् । उनी कैलालीबाट सोमबार नै बर्दियासमेत पुगेका छन् । बर्दिया २ उनको बुवाको निर्वाचन क्षेत्र हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीसहित ५ सय १ जनाको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । चौधरी रिहाइ हुँदै गर्दा स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, नेत्री एलिजा गौतमसहित पार्टीका नेता कार्यकर्ता र शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । उनको स्वागतका लागि सोमबार बिहानैदेखि डिल्लीबजार कारागारमा नेता, कार्यकर्ताको भीड लागेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका हुन् । यस्तै, अन्य ४ सय ८२ जनाकोसमेत बाँकी कैद माफी भएको छ । भुक्तान हुन बाँकी कैद छुट पाउनेमा ७ जना ज्येष्ठ नागरिकसहित अन्य ४ सय ८२ जना छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्