Logo

सेनाको समन्वयमा विपद् व्यवस्थापन नमूना अभ्यास



काठमाडौं, १९ जेठ । कञ्चनपुरको महाकाली नदीमा आज बिहान नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकको अगुवाइमा यहाँका तीन सुरक्षा निकायले विपद् व्यवस्थापनसम्बन्धी नमूना अभ्यास गरेका छन् ।

महाकाली नदीको तटीय क्षेत्रका स्थानीयवासीको समेत सहभागितामा आयोजना गरिएको नमूना अभ्यास गरिएको हो । नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेक, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बलको ३५ नम्बर गणको सुरक्षाकर्मीको टोलीले भीमदत्त नगरपालिका–१२ हरिहरघाट नजिक नमूना अभ्यास गरेका हुन् ।

सो अवसरमा जिल्लामा हुने विपद्मा अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीको पूर्वतयारी, उद्धार सामग्री, बाढीबाट बच्ने उपाय र गरिने उद्धारका विषयमा नमूना अभ्यासमार्फत जानकारी गराइएको थियो । कञ्चनपुरमा विगत वर्षहरुदेखि नै महाकाली नदी, दोदा, चौधर नदीलगायतका नदीमा आउने बाढीका कारण स्थानीयवासी प्रभावित हुने गरेको विषयलाई मध्यनजर गर्दै बर्षातको पूर्वसन्ध्यामा नमूना अभ्यास गरिएको श्रीदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठले जानकारी दिए ।

उनले विपद्को आकस्मिक अवस्थामा सुरक्षाकर्मीबाट हुने उद्धार तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्ने उद्देश्यसहित नमूना अभ्यास गरिएको जानकारी दिए ।

“नमूना अभ्यासमार्फत तटीय क्षेत्रका स्थानीयवासीले विपद्का बेला गरिने उद्धार र सावधानीका विषयमा पनि सु–सूचित हुनुभयो”, सेनानी श्रेष्ठले भने, “प्राकृृतिक विपद्बाट मानवीय र जनधनको क्षति न्यूनीकरणका लागि सुरक्षा निकायमा आवश्यक दक्ष जनशक्ति उत्पादन र प्रशिक्षणमा जोड दिइएको हुन्छ ।”

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विपद् व्यवस्थापनमा सुरक्षा निकायको ठूलो भूमिका रहने बताए। “विपद् व्यवस्थापनमा सुरक्षा निकायसँगै समूदायको पनि भूमिका चाहिन्छ”, प्रजिअ अर्यालले भने, “यसका लागि क्षमता परीक्षण र सिक्नुपर्ने विषयको मूल्याङ्कनका लागि भएपनि नमूना अभ्यास गरिन्छ ।”

नमूना अभ्यासमा रेडक्रस सोसाइटी कञ्चनपुर, गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)र निड्स नेपालको समेत सहभागिताथियो ।

नमूना अभ्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, श्री नं २५ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी सञ्जयकुमार रञ्जीत, प्रमुख सेनानी दिवाकर रायमाझी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कमल थापा, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावल र रुद्रध्वज गणका निमित्त गणपति नवीन बोहरालगायतको सहभागिता रहेको थियो । रासस

File Photo/ Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot