Logo

शेरबहादुर र गगनबीच सधैं टकराव



काठमाडौं, २० जेठ । ‘उत्साह, एकता र रुपान्तरण’ को नारासहित १४औं महाधिवेशनबाट नयाँ नेतृत्व पाएको नेपाली कांग्रेसमा यतिबेला आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ । १४औं महाधिवेशनबाट प्रचण्ड मतसहित महामन्त्रीमा निर्वाचित भएका गगनकुमार थापा र पार्टी सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाबीचको मनमुटाव दैनिक नयाँ–नयाँ तरिकाबाट प्रकट भइरहेको छ ।

स्वभावैले धेरै बोल्न नचाहने पार्टी सभापति देउवा र उत्तेजक भाषण दिएर युवाको रक्तसञ्चारमा तरङ्ग ल्याउन माहिर महामन्त्री थापाबीचको अन्तरद्वन्द्व दिनप्रतिदिन छताछुल्ल भइरहेको छ । गत मंसिरमा सम्पन्न आम निर्वाचनमा महामन्त्री थापा एक्लाएक्लै प्रतिस्पर्धामा जान चाहन्थे । तर, सभापति देउवासहित बहुमतले सत्ता गठबन्धनमा रहेका पाँच दलबीच गठबन्धन गरेर निर्वाचनमा होमिने निधो गर्यो । त्यसो हुँदै गर्दा महामन्त्री थापासहित केही नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखेर बहुमतलाई कदर गर्न तयार भए ।

निर्वाचनको परिणाममा कांग्रेस पहिलो भयो । पहिलो दल भएर पनि कांग्रेस सरकार बनाउन असफल भयो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सँग नयाँ गठबन्धन तयार गरेर सरकार बनाए ।

त्यो गठबन्धनको आयु धेरै लामो टिकेन । फलतः फेरि कांग्रेस सम्मिलित पुरानै गठबन्धन व्युँतियो । कांग्रेस सरकारमा गयो । सभापति देउवाले सरकारमा एकलौटी रुपमा मन्त्री पठाएपछि फेरि पनि गगन विद्रोहमा उत्रिए ।

१६औं गणतन्त्र दिवसमा सरकारले टीकापुर घटनामा तीनै वटा अदालतले दोषी करार गरेका रेशमलाल चौधरीलाई आम माफी दियो । सरकारले आम माफी दिएसँगै सांकेतिक रुपमा देउवाको विरोधमा उत्रिएका गगन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा नागरिकता विधेयक पारित भएपछि भने थप आक्रमक भए । गगनले सार्वजनिक रुपमै अहिले अब बहुमतको निर्णय नमान्ने बताउँदै आएका छन् । बरु कांग्रेसको साधारण कार्यकर्ता भएर बस्न तयार तर बहुमतको गलत निर्णय नस्वीकार्ने उनको भनाई छ ।

हिजो (शुक्रबार) नेपाल प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको प्रथम अधिवेशनमा गगन देउवाको विरुद्ध थप आक्रमक देखिए । आम माफी र नागरिता विधेयक देउवाको एकल निर्णयबाट भएको उनको अरोप छ ।

‘नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोको विषयमा निर्णय गर्यो । एउटा निर्णय आम माफीको बारेमा, अर्का निर्णय नागरिकताको विषयमा । यी सबै निर्णय नेपाली कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईँहरुभन्दा पछाडि थाहा पाएको हुँ,’– उनले भने ।

महामन्त्री थापा केही दिनदेखि पार्टी सभापति देउवाविरुद्ध आक्रमक हुँदै आएका छन् । यसले कांग्रेसभित्र आन्तरिक विद्रोहको संकेत गरेको छ । तीन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा एक सिट पनि जित हासिल गर्न नसक्दा कांग्रेस थप आत्तिएको अनुमान गर्न सकिन्छ । महामन्त्री थापाले पनि प्रेस युनियनको कार्यक्रममा सबै भन्दा ठूलो पार्टी चार वर्षपछिको निर्वाचनलाई लिएर अहिलेदेखि डराइरहेको अभिव्यक्ति दिए ।

कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन् । उनको मुद्दाको किनारा नगालेसम्म पार्टीको जिम्मेवारीबाट अलग गर्नुपर्ने महामन्त्री थापालगायतको माग छ । पार्टीभित्रको दुई थरी मत बुझेका देउवा कम विवादमा पर्न चाहन्छन् । त्यसैले उनले केन्द्रीय कार्य सम्पादन समितिको बैठक नै बोलाएका छैनन् ।
पार्टीले बैठक नबोलाएकोमा पनि महामन्त्री थापा सभापति देउवासँग थप रुष्ट देखिन्छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot